राष्ट्रहित विपरीत रहेकाले एसपीपी स्वीकार्य छैन : ईश्वर पोखरेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असंलग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताएका छन् । उनले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताए ।
उनले आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्वीकार गरेको दाबी गरे । उनले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूणर् अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाए ।
उनले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गरे । उनले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताए । नले गठबन्धनले तथ्य विपरित र पुर्वाग्रहपूणर् कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे।
पूर्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सांसद पोखरेलले आफू मन्त्री रहँदा त्यसबारे कुनै सकारात्मक कुरा गरेको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताए। त्यतिखेर यो प्रस्तावको विषयमा कुरा आएको र आफूहरुले कार्यदल बनाएको स्मरण गर्दै उनले कार्यदलले सम्झौता अगाडि बढाउनु हुँदैन भन्ने निस्कर्ष निकालेपछि आफूहरुले कुनै प्रक्रिया अगाडी नबढाएको उनले स्पष्ट पारे।
‘गठबन्धनका नेताहरु आज गलत ढंगले झुटो कुरा बोलिरहनुभएको छ । गठबन्धनलाई नेतृत्व गर्ने नेताहरु सरासर झुटो कुरा बोलिरहनुभएको छ । एमालेप्रति आक्षेप लगाउने काम गर्नुभएको छ’, उनले भने, ’२०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरु जो बोलिरहनुभएको छ।’
प्रचण्डले एमालेप्रति संकेत गर्दै लगाएको आक्षेपको उनले निन्दा गरे । ‘प्रचण्डको भनाइको म भर्त्सना गर्न चाहन्छु । म चुनौती साथ भन्न चाहन्छु , गठबन्धनका नेताले भन्नु भएछ हालसालै यो केपी ओलीको पालामा भयो’, उनले भने, ‘म केपी ओलीले नेतृत्वको सरकारको बेलामा उपप्रधान तथा रक्षा मन्त्री थिएँ । यस विषयमा म पूर्ण जिम्मेवारीका साथ भन्न चाहन्छु, यदि त्यसबेला कुनै पनि सकारात्मक कुरा, त्यसका केही लिखतहरु, वक्तव्यहरू, माइन्युटहरु केही कुराहरु छन् भने यो संसद समक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’ बैठकमा सांसद दुर्गा पौडेलले एसपीपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिइन् । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सकेत मिलेकाले त्यसलाइ अस्वीकार गरेर अघि बढ्न आग्रह गरिन् ।