आठ हारपछि मुम्बईको पहिलो जित
मुम्बई । लगातार आठ हारपछि मुम्बई इण्डियन्सले शनिबार इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित हात पारेको छ । यसका लागि उसले राजस्थान रोयल्सलाई पाँच विकेटले हरायो ।
जितका लागि १५९ रन पछ्याइरहेको मुम्बई चार बलको खेल बाँकी छँदा जितसम्म पुग्न सफल रह्यो । सूर्यकुमार यादवको ५१ रनको मद्दतले मुम्बईले पाँच विकेटमा १६१ रन बनायो ।
यस जितपछि नवौं खेलमा आएर मुम्बईले दुई अंक बटुलेको छ । पहिले ब्याटिङ गरेको राजस्थानले लयमा रहेका जस बटलरको ६७ रनको मद्दतले छ विकेटमा १ सय ५८ रन बनाएको थियो । हारका बावजुत राजस्थान १२ अंकमा लिग तालिकाको दोस्रो स्थानमा छ ।