धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले चलायो गोली, पाँच जना घाइते


०८:४३ बजे

धनुषा । धनुषामा जनमत पार्टीले गरिरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्नेतले जानकारी दिए । प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो । जनमत पार्टीले पछिल्लो केहि दिनयता अनिश्चितकालीन भन्दै सडक अवरुद्ध गराउँदै आएको छ ।

सप्तरीमा जनमत पार्टीका ६ कार्यकर्ता थप सात दिन हिरासतमा
सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कंचनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी- १ का अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु योगानन्द साह, महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

किसानलाई मलखाद माग गर्दै उनीहरुले गत शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित भारदहमा सडक अवरुद्ध गर्ने क्रममा उनीहरु पक्राउ परेका छन् । किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद, बिऊ, सिँचाइको व्यवस्था गर्नुपर्ने, नसके सिँचाइ बिजुली निःशुल्क गर्नुपर्ने, स्वतः बालीनाली बीमाको सुनिश्चितता हुनुपर्नेसहितका ११ बुँदे माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको छ । यद्यपि प्रहरीले बलप्रयोग गरेर राजमार्ग खुलाउँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७