६९ अंक बढीले घटेर शेयर बजार राताम्मे, करीब तीन अर्बको कारोबार
काठमाडौं, १ कातिक । शेयर बजार परिसूचक नेप्से घटेर आज (सोमवार) राताम्मे भएको छ । आज नेप्से ६९.५१ अङ्कले घटेर दुई हजार पाँच सय ८७ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ । यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।
आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।