नेता नेपाललाई भेटेर सिंहदरबार फर्किए भुसाल, आठ घण्टादेखि एमाले कार्यदल बैठक जारी


२०७८ असार २७ आइतबार १३:४० बजे

काठमाडौं, २७ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पुनः सिंहदरबार फर्किएका छन् ।

बैठक चलिरहेका बेला बाहिरिएका भुसाल वरिष्ठ नेता नेपाललाई भेटेर फर्किएका हुन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटल पुगेर नेता नेपाललाई भेटेर पुनः बैठकमा फर्किएका हुन् । कार्यदल बैठकमा भएको छलफलबारे नेता नेपाललाई ब्रिफिङ गर्न उनी आर्याल होटल पुगेका थिए । उनी पत्रकारलाई छल्दै बैठकस्थलको पछाडिको ढोकाबाट बाहिरिएर अर्याल होटल पुगेका थिए ।

आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक जारी छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अहिले पनि कार्यदल सदस्यहरु विवाद समाधानको विन्दु पत्ता लगाउने कोशिसमै छ ।

कार्यदल सदस्यहरुले आजको बैठकले सहमतिलाई अन्तिमरुप दिने र सार्वजनिक गर्ने दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए । यता वरिष्ठ नेता नेपालले भने सर्वोच्चमा रहेको हस्ताक्षर फिर्ता नहुने र अदालतको फैसला प्रभावित हुने कुनै काम नहुने बटमलाइन अगाडि सारेका छन् ।

यता प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे स्थायी कमिटी वैठक बोलाएका छन् । आज दिउँसो ४ बजे पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेतासहितको स्थायी कमिटी वैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । तर, माधव नेपाल पक्षले भने स्थायी कमिटी वैठकबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको छ ।

कार्यदलको वैठकले एकताको सूत्र पहिल्याउँदै गर्दा सत्तारुढ एमाले निकट युवासंघले आज अध्यक्ष केपी शर्मा ओलीको समर्थन र विपक्षी गठबन्धनको विरोधमा सडक प्रदर्शन गरेको छ । त्यस्तै एमालेको ओली समूह निकट नेपाल खेलकुद महासंघले पनि विपक्षी गठबन्धनको विरोधमा प्रदर्शन गरेको छ ।

उनीहरुले अध्यक्ष ओलीको तस्विर अंकित चित्र बोकेर विपक्षी गठबन्धनविरुद्ध नाराबाजी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समेत रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७