संसद विघटनको विरोधमा राष्ट्रियसभामा कांग्रेसले देखायो ‘कालो टोपी’

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा राष्ट्रिय सभा वैठकमा ‘कालो टोपी’ प्रदर्शन गरेको छ । सोमबार कांग्रेस सांसद रमेशजंग रायमाझीले कालो टोपी प्रदर्शन गरेका हुन् । प्रतिनिधि सभा विघटनको विरोधमा कालो टोपी प्रदर्शन गरेको उनको भनाइ थियो ।
सांसद रायमाझीले भने, ‘आज (कालो) क्याप लगाएर प्रवेश गरेको छु । सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरुद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।’
प्रतिनिधि सभा विघटन र सरकारको विरोधका रूपमा ‘कालो क्याप’ लगाएर प्रदर्शन गरेको उनको भनाइ थियो । राष्ट्रिय सभामा बोल्दै उनले टाउकोबाट ‘कालो क्याप’ निकालेर देखाएका थिए । ‘प्रधानमन्त्रीको कदमका विरुद्धमा यो सदन मार्फत मुलुकले थाहा पाओस्, कालो झण्डाका रूपमा मैले यो प्रस्तुत गरेको छ’, उनले कालो क्याप देखाउँदै भने ।
प्रतिनिधि सभा विघटन गर्ने वेला नै लाखौं जनता कालो झण्डा बोकेर सडकमा निस्कने अवस्था आएको भए पनि कोरोना भाइरसको महामारीका कारण रोकिएको उनको भनाइ थियो । पाँच दलको सुझबुझका कारण कोरोना संक्रमण नफैलियोस् भनेर सडक प्रदर्शन नभएको सांसद रायमाझीको जिकिर थियो ।