काठमाण्डौं, १५ फागुन : काठमाण्डौंको बल्खु र ललितपुरको सातदोबाटोबाट २१ हजार नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेका छन् ।
पक्राउ परेकामध्ये एक हजार नेपाली सेना र एक पूर्व प्रहरी नै रहेको जनाइएको छ । प्रहरीले पक्रेकामा धनुषाका धीरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरीका मनोज केसी, सोलुखुम्बुका भेषकुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझी छन् ।
शनिबार बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न गएका धिरज र निगमले ५ सयका दुई वटा नोट दिएका थिए । फार्मेसी सञ्चालकलाई उक्त नोट नक्कली भएकाले शंका लागि नजिकै ड्यूटीमा रहेका प्रहरीलाई खबर गरे । प्रहरीले राई र ठकुरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थाल्यो ।
प्रहरीलाई उनीहरूले आफूले उक्त नोट गोदावरीका मनोज केसीबाट ल्याएको बयान दिए । केसी ललितपुरको सातदोबाटोमा मोटरसाइकल ग्यारेज चलाउने गरेका छन् । उनकै बयानका आधारमा प्रहरीले बाँकी ३ जनालाई समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । पोखरेलका अनुसार पक्राउ परेकाको साथबाट पाँच सय र हजारका गरी २१ हजार नगद बरामद भएको छ ।
त्यसमा ३८ थान पाँच सयका नोट र बाँकी दुई थान हजारका नोट रहेको एसएसपी पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका भेषकुमार थापा नेपाली सेनाका जवान हुन्। नेमा तामाङ नेपाल प्रहरीका पूर्वजवान हुन्। तामाङ प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका चालकसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरूकै लिङ्कमा अरू पनि नक्कली नोटका कारोबारी हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको एसएसपी पोखरेलले जानकारी दिए ।