उपत्यकाका प्रजिअको वैठक बस्दै, ललितपुरका प्रजिअलाई कोरोना संक्रमण
काठमाडौं, २१ बैसाख । उपत्यकामा जारी लकडाउन र कोरोना रोकथाम तथा नियन्त्रणका विषय समीक्षा र थप निर्णय आज (मंगलबार) उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने जनाइएको छ । उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।
निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ । यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय हुने बताइएको छ ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
ललितपुरका प्रजिअ निरौलालाई कोरोना संक्रमण
यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकाले आजको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिएका छन् । ‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उनले भने । उनी अहिले आइसोलेशनमा रहेका छन् ।