द्रुतमार्गको दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखा समितिको पत्र


२०७८ बैशाख १६ बिहीबार १५:३१ बजे

काठमाडौं, १६ बैसाख । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई द्रुतमार्ग (फास्ट ट्रयाक) को दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न पत्राचार गर्दै निर्देशन गरेको छ ।

यसअघि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ‘रक्षा मन्त्रालयलाई पटक–पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएपछि नेपाली सेनालाई सिधै पत्र लेखेर ठेक्का प्रक्रिया रोक्न भनेका छौं,’ समिति सचिव रोजनाथ पाण्डेले भने । चैत १९ गते लेखा समितिले फास्ट ट्रयाकको दोस्रो प्याकेज अन्तर्गतको टनेल र पुलको ठेक्का प्रक्रियाको प्रि–क्वालिफाइड’ मै अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देश गरेको थियो । तर, निर्देशन कार्यान्वयन नभएको सचिव पाण्डेले बताए ।

चैत १९ गतेपछि लेखा समितिले वैशाख ६ गते र बैशाख ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको थियो । समितिको निर्देशनको बेवास्ता गर्दै वैशाख १२ गते टेण्डर आह्वान गरिएको छ । संसदीय समितिको निर्देशन विपरीत टेण्डर प्रक्रिया अगाडि बढाइएकाले सीधै नेपाली सेनालाई पत्र लेखिएको पनि सचिव पाण्डेले बताएका छन् ।

मकवानपुरको धोद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । तर सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गरेको छ ।

एउटा मात्रै कम्पनीलाई प्रि–क्वालिफाइड ठहर गर्नुको पछाडि अनियमितता भएको हुन सक्ने लेखा समितिको आशंका छ । यसमा सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरीद प्रक्रिया सञ्चालन नभएको लेखा समितिको निष्कर्ष छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७