प्यूठानमा नेपाल–खनाल समूहको एमाले समानान्तर कमिटी
प्युठान, २९ चैत । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्यूठानमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।
समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी. छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी छन् ।
अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाल समूहका लुम्विनी प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली नीति, विधान विपरीत गई स्वेच्छचारी प्रवृत्तिले अगाडि बढेको कारण कम्युनिष्टहरु कलंकित भएको गुनासो गरे ।
‘तमाम सोझासाझा, कर्तव्यनिष्ठ कार्यकर्ताहरूलाई बाटो विराएर गल्ती नगर्न आग्रह गर्छु,’ उनले भने, ‘पार्टीलाई इतिहासमै कलंकित हुन र विघटनबाट बचाउन सबैमा अनुरोध छ ।’ भेलामा संविधानसभा सदस्य हिराबहादुर के.सी. र धनबहादुर रायमाझी, प्रदेश कमिटी सदस्य शोभाराम भण्डारी लगायतका नेताहरूको उपस्थिति थियो ।