फजुल खर्च बचाएर आविष्कार केन्द्र र धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग
संखुवासभा, २४ पुस । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कचाएर एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।
समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस–सुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।
सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिए ।
आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरण समेत उपलब्ध गराउने जनाएको छ । बिहीबार नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।