एशिया क्षेत्रीय भैंसीविज्ञको महासभा जेठमा


०३:४१ बजे

काठमाडौं, २२ पुस । विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैंसीविज्ञको महासभा (दशौं एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो ।

एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन् ।

हरेक तीन–तीन वर्षमा हुने महासभा पहिलो पटक नेपालमा हुन लागेको हो । एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटा रहेका छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ । देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो ।

सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ । एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो । संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो ।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिए ।

नेपालले भैंसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैंसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ । महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुनेछ । यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो । भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए ।

विश्वमा भएका भैंसीमध्ये ९२ प्रतिशत भैंसी एशियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैंसीको संख्या ५२ लाखभन्दा बढी भएको तथ्याङ्क छ । भैंसी दूध र मासुका लागि महत्वपूर्ण मानिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७