‘कमरेडहरू’ लाई केपी ओलीले भने, ‘तिनीहरुलाई राम्रैसँग सम्झाएर पठाएको छु’


०४:४६ बजे

काठमाडौं, १९ कार्तिक । ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई मध्य राति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् ।

कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लना साथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि बालुवाटारमा प्रधानमन्त्रीसँग एक घण्टा पाँच मिनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल. भूटान मामिला हेर्ने नर्थइष्ट डेस्क भनेझैं ‘रअ’को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘रअ’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू सहभागी थिए ।

अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीन जना बसेर भएको वार्ताको टिपोट चाहिँ नेपालको तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले गरेका छन् । यो भेटघाटमा नेपालस्थित ‘रअ’ का स्टेशन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि सामन्तले भेटे, उनकै बालुवाटारस्थित निवास पुगेर ।

भारतले यसअघि पनि ‘रअ’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्नेगरी ‘रअ’ का मानिस दुतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालको तर्फबाट खुल्लमखुला ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएकोचाहिँ यो पहिलोचोटी हो ।

प्रधानमन्त्री ओली चीनतिर ढल्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर भारतले विशेष महत्वको छ भन्न देखाउन चाहेको प्रष्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, भारतको जुनसुकै तहका मानिससँग पनि हाम्रा प्रधानमन्त्री सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको बताइन्छ । जनआस्था साप्ताहिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७