फुट्दैन नेकपा : माधव नेपालको ‘लाइन’, ‘पार्टी फुट्न नदिने, ओलीलाई सच्चाउने’
काठमाडौं । पछिल्लो समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच यतिधेरै तिक्तता थियो, की आफू निकट नेताहरुले वरिष्ठ नेता नेपालसँग सम्बन्ध र संवाद बढाउन अनुरोध गर्दा ओलीले भनेका थिए, ‘उनको त अनुहार पनि हेर्न मन छैन ।’ यो घटना दुई महिना अघिको मात्रै थियो । वरिष्ठ नेता नेपालको ‘अनुहार हेर्न’सम्म अनिच्छा राख्ने प्रधानमन्त्री ओलीको मन अहिले बदलिएको छ ।
४ कात्तिक २०७७ मा प्रधानमन्त्री ओलीले उनै वरिष्ठ नेता नेपालको अनुहार मात्रै हेरेनन् । सहकार्यको प्रस्ताव राखे । प्रधानमन्त्री ओलीले भने, ‘अब मिलेर जाऔं ।’ अर्का अध्यक्ष प्रचण्डसँग संवाद र सम्झौता गरेपछि वरिष्ठ नेता नेपाललाई वेवास्ता गर्ने ओलीले ११ कात्तिक २०७७ मा त अझ एक कदम अघि बढेर वरिष्ठ नेता नेपाललाई भने, ‘अबको अध्यक्ष तपाई ।’
मन्त्रिपरिषद् पुन: गठन, राजदूत सिफारिस र कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव राखिएपछि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध चिसिएको छ । यतिसम्म की अब पार्टी फुट्ने अनुमान सुरु भएको छ । सधैंको झगडामा चुपो लागेर सक्रिय हुने महासचिव विष्णु पौडेलले समेत एकता संकटमा परेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि त्यो अनुमान बलियो बनेको छ । प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्ड थप आक्रोशित बनेसँगै अब पार्टी के हुन्छ ? भनेर कार्यकर्तामा चिन्ता बढेको छ ।
माधव नेपालको ‘लाइन’
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचमा दुरी बढेसँगै सबैको नजर वरिष्ठ नेता नेपालतिर छ । सबैको जिज्ञाशा छ, ‘अब वरिष्ठ नेता नेपाल के गर्छन् ?’ ‘प्रधानमन्त्री ओलीको मनपरीले सिमा नाघेको छ । उनलाई सच्चाउनुको विकल्प छैन,’ नेपाल निकट एक स्थायी कमिटि सदस्यको उत्तर छ, ‘उहाँको अबको प्रयास ओलीलाई सच्चाउने तर पार्टी फुट्न नदिने मै हुन्छ ।’ ती स्थायी कमिटि सदस्यका अनुहार प्रधानमन्त्री ओली नसच्चिए पार्टी र आन्दोलनलाई ठुलो धक्का लाग्ने बुझाईमा वरिष्ठ नेता नेपाल छन् । ती सदस्यले भने, ‘फेरि फुट्ने गरी कदम चाल्नु पनि आन्दोलनको लागि अर्को घातक कदम हुन्छ ।’
स्रोतका अनुसार वरिष्ठ नेता नेपालसँग पछिल्लो समयमा ओली निकट नेताहरुले संवादलाई बाग्लो बनाएका छन् । ‘मिलेर जाने’ प्रस्ताव राखेका छन् । तर वरिष्ठ नेता नेपाल ती नेताहरुको प्रस्तावमा ढुक्क छैनन् । ‘ओलीले सम्झौता र बोली कार्यान्वयन नै गर्दैनन्’ वरिष्ठ नेता नेपालको बुझाई छ । शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग ओली र नेपाल मिलाइ दिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेर यस्तो अनुरोध गरेका थिए । लगत्तै (मंगलबार) १८ कात्तिक २०७७ वरिष्ठ नेपाल नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेका थिए । वरिष्ठ नेता नेपालले प्रदीप नेपाललाई ओलीलाई सम्झाउन अनुरोध गरेका थिए ।
यता एक समूह भने प्रधानमन्त्री ओली अब सच्चिन नसक्ने भन्दै ओलीमाथि एक्सन लिनुपर्ने अडानमा छन् । तर, वरिष्ठ नेपाल नेपाल भने पार्टी फुट्ने गरी कसैले कुनै पनि एक्सन चाल्न नहुने अडानमा छन् । उनले भन्ने गरेका छन्,‘सच्चाउनुपर्छ तर पार्टी कुनै हालतमा फुट्न दिन हुदैन ।’
अबिचलित अडान
१५ बैसाख २०७७ । उतिबेला आन्तरिक शक्ति संघर्ष जारी नै थियो । अहिले जसरी प्रधानमन्त्री ओली घेराबन्दीमा थिए । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाललगायतका बहुमत सचिवालय सदस्यहरु अध्यक्ष ओलीको बिपक्षमा उभिएका थिए । त्यही घेराबन्दी तोड्ने उद्देश्यले १५ बैसाख २०७७ मा अध्यक्ष ओलीले आफ्नो विपरीत खेमामा रहेका वरिष्ठ माधव नेपाललाई एउटा प्रस्ताव राखे । त्यो प्रस्ताव थियो, ‘अर्ली महाधिवेशन’ । ‘अर्ली महाधिवेशन’ अर्थात् असोजभित्र महाधिवेशन गरेर वरिष्ठ नेपाललाई अध्यक्ष बनाउने । तर वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको ‘अर्ली महाधिवेशन’लाई अस्वीकार गरीदिए । उनले अध्यक्ष ओलीलाई भने, ‘पदको कुरो होइन पार्टी र सरकार सञ्चालनका लागि निश्चित पद्धति, विधि र प्रक्रिया बनाएर जाँऔं ।’
अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गरेपछि त्यसयता अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संवाद नै टुट्यो । २ साउन २०७७ मा मात्रै अर्का अध्यक्ष प्रचण्ड पनि रहेको छलफलमा अध्यक्ष ओलीसँग संवाद भयो ।
शक्ति संघर्ष जारी नै थियो । एकातिरको नेतृत्व अध्यक्ष ओलीले गरिरहेका थिए, अर्कातिरको अध्यक्ष प्रचण्डले । तर २० वैशाख २०७७ कोे सचिवालय बैठकमा प्रचण्डले नाटकीय रुपमा बोली फेरे । त्यो दिनको सचिवालय बैठकमा अचनाक विपरीत ध्रुवमा रहेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको एउटै भाकामा भनाई आयो ।
अध्यक्ष ओलीले आत्मआलोचना गरे । पार्टी र सरकारलाई विधिमा सञ्चालनका लागि प्रतिबद्धता जाहेर गरे । प्रचण्डले पनि ओलीको भनाईमा भाका मिलाए । प्रचण्डसँग कुममा कुम मिलाएर हिंडिरहेका वरिष्ठ नेता नेपाल भने झस्किए ।
नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता नेपालले आंशका व्यक्त गरे र भने, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । पार्टी र सरकार सञ्चालनका लागि विधि र प्रक्रिया बनाऔं । यी सबै छोडेर दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’ ओली र प्रचण्ड मिलेपछि अन्ततः उत्कर्षमा पुगेको विवाद सेलाएर गयो । ओलीको सत्ता संकट तत्काललाई टर्याे । तर माधव नेपालले भने विधि र पद्धतिको कुरा उठाउन छोडेनन् ।
फेरि प्रचण्डको बोली फेरियो, माधव नेपालको अडान उही
१५ बैसाख २०७७ मा वरिष्ठ नेता नेपाललाई राखेको ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई ३१ असार २०७७ को ‘वान टु वान’ छलफलमा राखे । बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेका थिए । अध्यक्ष ओलीको यो प्रस्तावमा अध्यक्ष प्रचण्ड अलि लचक देखिए ।
विवादको उत्कर्षकै बीचमा शनिबार (३ साउन २०७७) मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य दोहोरियो । ओलीको कुरामा प्रचण्ड सहमत देखिए । प्रधानमन्त्री ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’ को प्रस्तावमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लचक देखिए । एक सचिवालय सदस्यको भन्छन्, ‘शनिबार (३ साउन २०७७) मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य उस्तै देखियो ।’
फेरि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति भयो । २६ भदौ २०७७ को स्थायी कमिटी बैठकमा ओली र प्रचण्डले बोली मिलाए । नेपाल फेरि शंसकित भए । फेरि उही पद्धतिको कुरा उठाए । तर ओली र प्रचण्डको सम्झौता टिकेन । भदौ २९ मा जारी गरिएको अन्तरपार्टी निर्देशिका (अपानि) मा ओलीले आफ्नो पनि हस्ताक्षर हुनुपर्ने अडान लिएपछि प्रचण्ड बिच्के । कर्णालीको कदमपछि झनै दुरी बढ्यो ।
यसपछि प्रधानमन्त्री ओली समूह वरिष्ठ नेता नेपाललाई फकाउने अभियानमा लागेका छन् । तर, नेपालको उही अडान छ, ‘पद्धतिमा पार्टी र सरकार चलाऔं ।’