बोक्सीको आरोपमा आफ्नै छोराले लिए ९० वर्षीया आमाको ज्यान


११:२१ बजे

जनकपुर, १६ कार्तिक । बोक्सीको आरोपमा आफ्नै छोराबाट कुटिएकी सिरहाकी ९० वर्षीया महिलाको ज्यान गएको छ ।

सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी सोनार साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको हो ।

शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साँझ सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन् ।

गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनको कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडि निर्घात कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका थिए । गाउँलेले खबर गरेपछि समयमै प्रहरी पुगेपछि दिसा खुउने प्रयास असफल भएको थियो । दशैंको अर्को दिन सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका थिए ।

दुवै छोरा छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । यहीबीच उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । बुहारीको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई बोक्सीको आरोप लगाएका हुन् । आफ्नै नातिनीबुहारी बिरामी हुँदा आमाले बेवास्ता गरिन्, बरु उल्टै बोक्सी लागिन् भन्दै छोराले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् ।

दिसा खुवायो भने बोक्सीको नजर झर्छ भन्दै उनले आमालाई दिसा खुवाउने प्रयास गरेका थिए । उनले आदेश दिएपछि माहिलो छोराले प्लास्टिकमा दिसा घोलेर ल्याएका थिए । तर, घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले रामऔतारले आमालाई दिसा खुवाउन भने नपाएको छिमेकीले बताएका छन् ।

गाउँमा जघन्य घटना भइरहेको विषयमा जानकारी पाएपछि वडाध्यक्ष दाजु कपलेश्वर यादवले प्रहरीलाई खबर गरेका थिए । ‘मैले गाउँलेबाट जानकारी पाएलगत्तै मिर्चैया प्रहरीलाई खबर गरें, प्रहरीले वृद्ध महिलालाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुर पुर्‍यायो,’ वडाध्यक्ष यादवले भने, ‘छोराले दिसा खुवाउन पाएन, तर वृद्धा आमालाई लछारपछार गर्दै घाँटी थिचेको जानकारी गाउँलेले दिएका छन् ।’ कुटपिट र घाँटी थिचिएपछि सुमादेवीको घाँटीको हड्डी मोडिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालका अनुसार दुव्र्यवहार गर्ने छोरा रामऔतार अहिले हिरासतमा छन् । उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । आरोपी आफैले पनि आरोप स्विकारेका छन्, अब कानुनअनुसार कारबाही हुन्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७