भारतको यूपी बलात्कार-हत्या प्रकरणमा मुख्यमन्त्री योगीको कडा एक्सन : थुप्रै प्रहरी अधिकृत निलम्बित
नयाँदिल्ली, १७ असोज । भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला पेचिलो बन्दै गएको छ ।
योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले सोही प्रकरणमा जोडिएका हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई निलम्बन गरिदिएको छ । पीडितप्रति प्रहरीको भूमिका विवादित भएको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री आदित्यनाथको निर्देशनमा त्यस क्षेत्रका अधिकांश अधिकृतलाई निलम्बन गरिएको हो ।
भारतीय मिडियाका अनुसार घटना भएको क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टरसहित अन्य अधिकारीहरु निलम्बनमा परेका छन् । सोही घटनालाई लिएर राजधानी दिल्लीस्थित जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएपछि शुक्रबार साँझ मुख्यमन्त्री आदित्यनाथले यस्तो कदम चालेका हुन् ।
यस्तै आदित्यनाथले उत्तर प्रदेशमा महिलाहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित भएको भन्दै चेतावनी दिए । उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा आमा-दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ ।’
हाथरस क्षेत्रमा रहेकाे एक गाउँकी १९ वर्षीया किशोरीमाथि गत सेप्टेम्बर १४ मा चार जनाले सामुहिक बलात्कार गरी भौतिक आक्रमण समेत गरेका थिए । प्रहरीले भने पीडितलाई न्याय दिलाउने भन्दा पनि दोषीसँग मिलेको भन्दै आम नागरिक सडकमा उत्रिएका थिए । एजेन्सी