कमलादी सुन अप्रेसन प्रकरण : प्रहरीद्वारा घटनास्थल नै परिवर्तन, फेरिए छानविन समितिका संयोजक
काठमाडौं, १५ साउन । काठमाडौं कमलादीस्थित नविल बैंक मोडबाट गत मंगलबार काठमाडौं प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी, आधा किलो सुन र २ थान पेस्तोलको अनुसन्धान थप जटिल र शंकास्पद बन्दै गएको छ ।
दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेसनको घटनास्थल नै परिवर्तन गरिएको खुलासा भएको छ । घटनास्थल सुन्धारा भए पनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटना अनुसन्धानको जिम्मा काठमाडौं प्रहरीबाट खोसेर अपराध महाशाखालाई दिइएको छ ।
‘सिसिटिभी फुटेज विष्लेषण गर्दा घटनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।
दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीको दावी छ । स्कार्पियोमा चालक बाहेक तीन जना सवार थिए ।
स्कार्पियो छाडेर काठमाडौंबाट भागेका तीन जनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई बिहीबार विहान काठमाडौं ल्याइएको छ ।
सुनको पोको फालेर गाडी भागेको सूचना दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहालले एसएसपी ज्ञवालीलाई तत्काल गर्दा पनि उनले पुतलीसडकदेखि भाग्नसक्ने थानकोट र कोटेश्वर नाकामा उक्त गाडी नियन्त्रणमा लिने प्रयास किन गरेनन् ? यसले काठमाडौं परिसरको समेत उक्त गाडी र सुन फाल्ने मानिस पक्राउ नपर्नुमा लापरबाही देखिएको छ ।
छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।
सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।
काठमाडौं कमलादीमा सुन र पेस्तोल फालेर अभियुक्त भागेको घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयले गठन गरेको छानविन समितिको संयोजक २४ घण्टा नबित्दै फेरिएका छन् ।
बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरिएको भए पनि बिहीबार उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाइएको छ । महानगरीय प्रहरी कार्यालय कै एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएका हुन् ।
२४ घण्टा नबित्दै संयोजक परिवर्तन गर्नुको कारण एसएसपी किरण बज्राचार्य यसअघिको एसिडको घटनामा समेत केन्द्रित भएको र नभ्याउने भएकाले उनलाई हटाई यादवलाई समितिमा राखिएको डीआईजी विश्वराज पोख्रेलले बताए ।
समितिमा भएकामध्ये जो वरिष्ठ छ, उही संयोजक हुने भएकाले यादव संयोजक बनेको डीआईजी पोख्रलको भनाइ छ । एसएसपी थापाभन्दा यादव वरिष्ठ हुन् । यादवको संयोजकत्वमा गठित समितिको संयोजकत्वमा एसएसपी दीपक थापा, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी राजकुमार केसी र दुर्गा दाहाल सदस्य छन् ।