कैलालीको भजनी र जोशीपुर डुबानमा


१०:४४ बजे

कैलाली, १९ असार । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ ।

काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिए । भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौं घर डुबानमा परेको बताइएको छ ।

‘काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो’, चौधरी भन्छन्, ‘कान्द्रा नदी बढ्न थालेको छ । नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ ।’

भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ । भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको चौधरीले बताए । ‘नदीमा पानी भरिएपछि गाउँ पस्यो, भजनी–जोशीपुर हुँदै बौनिया जोड्ने सडकसमेत डुबानमा परेको छ । सडकमा डेढ मिटर पानी पुगेको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ ।’

भजनीको वडा नं २ स्थित मोहनपुरमा नदीले सयौँ बिघा धानखेती पटानी गरेको छ । भर्खरै धान रोपेको सयौँ बिघा पटानी गरेपछि किसान दुःखी भएका छन् । कान्द्रा नदी गाउँ फर्किएपछि चौधरीको एक बिघा धानखेती पटानी भएको छ ।

चौधरीसँगै मोहनपुरका ६५ किसानको खेत बालुवाले पुरेको छ । भजनीकै दुःखराम चौधरीले पालेका माछा बगेका छन् । ‘पाँच हजार माछा हालेको थिएँ, सबै बगायो’, दुःखरामले भने, ‘एक किलो तौल पुगिसकेका थिए । मलाई लाखौं घाटा भयो ।’

बिहीबार रातिको वर्षापछि काढा नदीको पानी गाउँ पसेपछि जोशीपुर १ राजीपुरमा २५ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासी शेरबहादुर साउदले जानकारी दिए । ‘नदीमा पानीको बहाव बढिरहेको छ । नदीमा पानी बढे जोशीपुर डुबान र कटानको जोखिममा पर्छ’, साउदले भने, ‘मुक्तकमैया बस्तीमा त दयनीय अवस्था भएको छ ।’

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन् । भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली र उच्च घरलाई तयारी अवस्थामा राखेको १ नं वडाध्यक्ष विधिराम चौधरीले बताए । यहाँ वर्षेनी बाढी र कटान हुन्छ ।

यहाँका नागरिक हरेक वर्ष बाढीको त्रासमा हुन्छन् । बाढी आउने भएपछि यहाँका धेरै किसान चैते धानखेती गर्छन् । जोशीपुरका खगेन्द्र साउदले वर्षेनी डुबानको समस्या झेल्दै आए पनि सरकारले दीर्घकालीन डुबानको समस्या समाधान गर्न पहल नगरेको गुनासो गरे ।

‘वर्षात् हुन थाले हामी रातभरि सुत्न सक्दैनौं’, साउदले भने, ‘अन्नपात सबै भिजेर नष्ट भएको छ । अझै वर्षा हुने देखिएको छ । हामी सुरक्षित स्थानको खोजीमा छौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७