सोमबारदेखि सबैखाले यात्रुवाहक साधन उपत्यकाबाट बाहिरिन–भित्रिन रोक


२०७६ चैत ९ आइतबार २१:०१ बजे

काठमाडौं, ९ चैत । सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ ।

यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौंबाहेकका सहर (ठाउँ) को हकमा पनि यही नियम कार्यान्वयन हुँदैछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो ।

‘काठमाडौं मात्र होइन, पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न दिइने छैन,’ यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले भने । अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट छ ।

कानुनअनुसार लामो दूरी भन्नाले दुई सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । तर, प्रधानमन्त्रीले कानुनी व्यवस्था नहेरी सहरभन्दा बाहिर जानबाट रोक्ने उद्देश्यले ‘लामो दूरी’ शब्द प्रयोग गरेको र शनिबारको बैठकले दुई सय ५० भन्दा कम दूरीको यातायात सञ्चालनलाई पनि रोक लगाउने निर्णय गरेको विभागले जनाएको छ । कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।

कोरोनाको त्राससँगै विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ । शनिबार मात्रै साँझ ५ बजेसम्म एक लाख ८६ हजार यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो । ५ बजेपछि पनि यात्रु जानेक्रम रहेकाले एकैदिन दुई लाखभन्दा बढी बाहिरिएको महाशाखा प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

आफ्नो थातथलोतर्फ जान चाहनेका लागि अब २४ घन्टा मात्रै समय छ । मन्त्री नेतृत्वको बैठकले बाँकी अवधिभित्र सहज यात्राका लागि व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यसका लागि यातायात व्यवसायीले अधिकतम सवारीसाधनको प्रबन्ध मिलाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । निर्णयअनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सबै यातायात कम्पनीका यात्रुवाहक सवारीसाधनलाई काठमाडौं पठाउन परिपत्र गरेका छन् ।

‘१० चैतअघि नै थातथलो फर्किने चाहनेलाई गन्तव्यमा र्पुयाउनुपर्ने भएकाले सबै यातायात कम्पनीका बस काठमाडौं आउँदै छन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । आइतबार नियमित १० वटा बस चल्ने रुटमा ४० वटासम्म चलाउने तयारीमा महासंघ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिसान, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिसँग सवारीसाधन उपलब्ध गराउन आग्रह गरे पनि चालक नभएकाले सम्भव नहुने जवाफ दिएका छन् ।

काठमाडौंबाहिर जानेको भिड चलेपछि भाडामा कालोबजारी समेत भएको छ । तोकेभन्दा बढी भाडा लिने र सिट रिजर्भ गरी अरूलाई धेरै रकममा बेच्ने १७ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गरेको छ । नियमित अनुगमन गरेर सिट क्षमताअनुसार यात्रु पठाउन सक्रिय रहेको दाबी ट्राफिकले गरे पनि उभिएर यात्रा गर्ने उत्तिकै छन् ।

उपत्यकामा यात्रु, चालक र सहचालकलाई मास्क वितरण

काठमाडौं उपत्यकामा भने सवारीसाधन सञ्चालन यथावत् रहनेछन् । तर, सरकारले अत्यावश्यक नपर्दासम्म यात्रा नगर्न आग्रह गरेको छ । कतिपय कार्यालय बन्द भएकाले काठमाडौंको यातायातमा भिडभाड नहुने अपेक्षा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए ।

यातायात मन्त्रालयले उपत्यकामा यात्रु, चालक र सहचालकलाई सर्जिकल मास्क वितरण गर्दै छ । मन्त्रालयले साझा स्वास्थ्य सेवासँग मास्क खरिद गरी शनिबार साझैदेखि गंगबु बसपार्कलगायत क्षेत्रमा मास्क वितरण थालेको सचिव कार्कीले बताए । एक लाख मास्क वितरण गर्ने मन्त्रालयको योजना छ ।

भारतबाट आएर नाकामा रोकिएकालाई स्वास्थ्य जाँच गरी गन्तव्यमा पुर्‍याइने

भारतबाट दैनिक हजारौँ नेपाली स्वदेश फर्किएका छन् । तर, नेपाल भित्रिएकाहरू गन्तव्यमा पुग्न यातायातका साधनको अभाव भएको छ । कैयौँ यात्रु सीमा क्षेत्रका बजारमै रोकिएका छन् ।

मन्त्रालयका अनुसार महेन्द्रनगरस्थित गड्डाचौकी र पूर्वको काँडडभिट्टा नाका क्षेत्रमा धेरै नेपाली अलपत्र छन् । अन्य नाकामा पनि अलपत्र परेको सूचना विभागलाई छ । स्वास्थ्य जाँचका सम्पूर्ण प्रक्रिया पूरा गरेर उनीहरूलाई गन्तव्यमा पुर्‍याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७