कोरोनाबाट ज्यान गुमाउने १० हजार नाघे, चीनमा भन्दा इटालीमा बढी मानिसको मृत्यु
काठमाडौं, ७ चैत । विश्वव्यापी महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ ।
गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाले उद्गमस्थल चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान लिएको छ ।
चीनमा हालसम्म ३ हजार २४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४०५ पुगेको छ । बिहीबार थप ४२७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।
इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २८४ पुगेको छ ।
मृत्यदुरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाएका छन् ।