काठमाडौंमा साझा थप २० नयाँ बस, कुन रुटमा चल्छ ?


२०७६ बैशाख २७ शुक्रबार ०२:४२ बजे

काठमाडौं, २७ बैशाख । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ । नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न शुरु गर्ने साझा यातायातले जनाएको छ । साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अब कम्पनीबाट हस्तान्तरणसहित रुट लिने प्रक्रिया अघि बढ्ने बताए ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो । कार्यकारी निर्देशक तुलाधरले हाल चलिरहेकै रुटमा बस थप्न प्राथमिकता दिने बताए । आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने उनको भनाइ छ ।

यी बस पनि अन्तर्राष्ट्रिय युरो–४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयर समेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोकल्यान्डले पाएको थियो ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चे विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ । प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७