घर भत्किएर किच्दा ४ महिने बालकको मृत्यु, बुबा-आमा घाइते
धनुषा, २७ वैसाख । रौतहटमा घर भत्किेर किच्दा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुबा–आमा घाइते भएका छन् ।
राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको एक तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा पुरिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनै जनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो । उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवा आमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।