बालुवाटार काण्डमा नियतबस् म दोषी देखिए दण्ड भोग्न तयार छु : बाबुराम भट्टराई

काठमाडौं, १६ बैसाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए जस्तोसुकै दण्ड भोग्न पनि आफू तयार रहेको बताएका छन् ।
सोमबार संसद बैठकलाई सम्बोधन गर्दैडा. भट्टराईले नियतवश संलग्नता देखिएमा आफू दण्ड स्वीकार्न तयार रहेको बताउँदै भने, ‘बालुवाटारको जग्गा काण्ड जरैसम्म गएर छानविन होस् ।’
तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताए । ‘नियत मात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?’ उनले भने नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’
ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ । ‘तपाईं हामी एक अर्कालाई आरोप प्रत्यारोप गर्ने हो भने यो समस्या बल्झेर आइरहन्छ’ उनले प्रश्न गरे, ‘यसलाई हामीले एकले अर्कोको कोटमा फ्याँकेर समस्या समाधान हुन्छ ?’
उनले अघि भने ‘व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिंदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको छ, भ्रष्टाचारको जरासम्म पुगेर हामी कसैले गल्ती गरेका रहेछौं भने कार्बाही होस् ।’
उनले देशमा देखिएका असन्तुष्टि सम्वोधनमा सरकार गम्भिर बन्नुपर्ने बताए । उनले विप्लव माओवादीलाई वार्तामा बोलाएर राजनीतिक असन्तुष्टि हल गर्नुपर्ने बताए । अहिलेको राजनीतिक असन्तुष्टिलाई सानो ठानेर वेवास्ता गरिए कुनै न कुनै समयमा त्यो मुलुकका लागि खतरा बनेर देखिने समेत बताए ।