अखिल र युवासंघका नेताहरु ब्यवसायसँग जोडिंदै


१०:०० बजे

काठमाडौं, १९ चैत : राजनीतिमा बिचौलियाहरुको नाम लिनुपर्दा विद्यार्थी र युवाहरु समेत बदनाम हुने गरेका छन् । तर राजनीतिलाई सेवाभावले लिएर जीवीकोपार्जनका लागि अन्य पेशा अंगाल्ने क्रम सुरु भएको छ ।

युवाहरुलाई उत्पादनसँग जोड्ने नीति अन्तर्गत नेकपा निकट अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामासहितले काठमाडौंको बानेश्वरमा हिमालयन रिमठिम क्याफे खोलेका छन् ।

विद्यार्थी नेताहरु प्रहरी र सशस्त्र प्रहरीका सरुवाबढुवादेखि ठेक्कापट्टाको बिचौलियाका रुपमा बदनाम भइरहेको बेला उत्पादनसँग जोडिनुलाई सकारात्मक रुपमै लिइएको छ ।

हिमालयन रिमठिम क्याफेमा अर्गानिक फुड, कफी र ड्रिंक्स समेत उपलब्ध हुने उल्लेख छ । अखिल अध्यक्ष लामा, अवानी पौडेल, कल्पना बाइवा, आरती लामा, आस्मा सेट्ठीसमेतले उक्त क्याफेमा लगानी गरेका छन् । क्याफे बानेश्वरको सिभिल अस्पतालसँगै छ ।

अखिल नेतृहरुको लगानीमा खुलेको हिमालयन रिमठिम क्याफेमा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालदेखि उच्चपदस्थ ब्यक्तिहरु पुगिसकेका छन् ।

उक्त रेष्टुरेन्टमा पुगेर खाना खाइसकेपछि नेकपाका नेता तथा जनता टेलिभिजनका अध्यक्ष डा. बिजय पौडेलले लेखेका छन्–‘काम गरिखाने युवाहरूलाई सलाम छ । अनेरास्वयुका युवा महिला नेताहरू नवीना लामा, आरती लामा, कल्पना वाइबा, अवानी पौडेल र आश्मा सेट्ठी ५ जना मिलेर नयाँ बानेश्वरमा संसद भवनको ठ्याक्कै पारिपट्टी मिनभवन क्याम्पस जाने बाटोको छेउमा ‘हिमालय रिमठिम क्याफे’ खोल्नुभएछ । सफासुग्घर, कति राम्रो ! राजनीतिलाई कमाउने ठाउँ हैन सेवा गर्ने ठाउँ बनाउने र आजिविकाका लागि केही उद्यम गर्नुपर्छ भन्ने कुरा युवा साथीहरूले लागु गरेको देख्दा साह्रै खुसी लाग्यो । यिनी युवाहरूको होटेलमा खाएर उत्साहित बनाउँ सबैले, पैसा त जहाँ खाए पनि तिर्नै पर्छ । अति मीठो खान पाएपछि यो होटेलमा गएर पैसा तिर्नुको छुट्टै आनन्द !!!

यसैगरी युवासंघ नेपालका महासचिव नरेश शाही र नेकपा केन्द्रीय सदस्य दिलुकमारी पन्तले बागबजारमा कालिज रेष्टुरेन्ट संचालन गरेका छन् । बागबजारको टुकुचा पुलसँगै श्रेष्ठ टेलरिङ अगाडि उनीहरुले कालिज रेष्टुरेन्ट संचालनमा ल्याएको केही महिना बितिसकेको छ ।

उक्त रेष्टुरेन्टमा कालिजको मासुसमेत पाइन्छ । जापानबाट फर्किएका युवाहरु समेत उक्त रेष्टुरेन्टका लगानीकर्ता हुन् । उनीहरुले कालिज पालन समेत गर्दैआएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७