प्रभावित क्षेत्र जाँदा के लिएर जाने ? बाराको फेटाबाट दिपेश पुनको सुझाव
काठमाडौं, १८ चैत : आइतवार साँझ आएको बारा र पर्सामा यस्तो शक्तिशाली आँधीहुरी आयो, जसलाई मौसमविद्हरुले पनि दुलर्भ घटना भनेका छन् । मौसमविद मीनकुमार अर्याल यो घटना आश्चर्यजनक र दुर्लभ भएको बताउँछन् ।
आइतबार साझ बारा र पर्सा जिल्लामा यस्तो हावा हुरी आयो । जसले केही छिनमै दर्जनौंको ज्यान लिए । सैयौं घाइते भए । हावाहुरी यति शक्तिशाली थियो की रुखहरु जरैसँग पुरक–पुरक उखेलियो । पक्की घर समेत फेदबाट ढल्यो । यतिसम्मका पानीको कल समेत उखेलिएको छ ।
विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् ।
कस्तो छ प्रभावित क्षेत्र ?
सोमबार बिहानदेखि काठमाडौं लगायत देशका बिभिन्न स्थानबाट राहत र उद्दारका लागि बारा र पर्सा पुग्ने क्रम जारी छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुन उद्दारका लागि टोली लिएर आइतबार राती नै बारा पुगेका छन् ।
सोमबार बिहानैदेखि उद्दारमा खटिरहेका नेता पुन सबैभन्दा प्रभावित क्षेत्र बाराको फेटा स्थित पुरौनियामा छन् ।
बिहानैदेखि उद्दारमा खटिरहेका नेता पुनका अनुसार फेटा पुरै प्रभावित छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएपनि प्रभावितहरुको अवस्था बिजोग छ । उनले फेटाबाट नयाँ पेजसँग भने, ‘घर लडेको छ,अन्नपात सबै पुरिएको छ, पानीको मुल समेत पुरिएको छ । बस्न, खानमा नै ठुलो समस्या देखिएको छ ।’
नेता पुनका अनुसार अन्नपात, लत्ताकपडा नभएपछि पिडितहरु खुल्ला चौरमा बसेका छन् । भन्छन्,‘यस्तो कहालीलाग्दो हावाहुन्डरी कसरी आयो ? भनेर उनीहरु नै अचम्भित र भयभित छन् ।’ उनका अनुसार पिडितहरु अझै पनि सम्हालिन र शान्त हुन सकेका छैनन् । भन्छन्,‘त्यो कहालीलाग्दो अवस्था सम्झेर उनीहरु अझैं भयभित भइरहेका छन् ।’
उद्दारकर्ताले के लैजाने ?
नेता पुनका अनुसार पिडितहरुले चिउरा र पानी खाएर बसेका छन् । प्रभावित क्षेत्रमा जानेहरुले खानेकुरासँगै पाल र झुल लगेर जानुपर्ने उनको सुझाव छ । भन्छन्, ‘बस्नलाई पाल अति आवश्यक छ, लामखुट्टे धेरै लाग्ने भएको कारण झुल आवश्यक छ । खानेकुरासँगै पाल र झुल ल्याएर आउनुहोला ।’
प्रभावित क्षेत्रमा खानेपानीको पनि उत्तिकै समस्या भएको पुनले बताए । धाराहरु पुरिएको र उखेलिएको कारण खानेपानीको समस्या भएको हो । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु अझै पुग्न सकेका छैनन् । घाइतेहरुको उपचार भएपनि प्रभावित स्थानमा स्वास्थ्यकर्मीहरु पुगेका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको जरुरी भएको उनी बताउँछन् ।
उनका अनुसार अहिले प्रारम्भिक उद्दारको काम भइरहेको छ । पुरिएका सामग्रीहरु निकाल्ने काम मात्रै भएको छ । पिडितहरुलाई पुन स्थापनाको लागि समय लाग्ने उनी बताउँछन् । भन्छन्,‘राती पाली टाँगेर बस्नेसम्म पनि अवस्था भएको छैन ।’ त्यसकारण उद्दारमा धेरैभन्दा धेरै आउन उनको सुझाव छ ।