हिन्दूसँगै मुस्लिम युवा पनि होली, देखियो सद्भावको यस्तो नमूना


२०७५ चैत २ शनिबार १७:५७ बजे

धनुषा, २ चैत । मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ ।

होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ  ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन् । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाटय कला परिषद्, मिनाप यसका आयोजक हुन् ।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्नेलाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ । मिथिला नाट्य कला परिषद्का विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रत्येक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

आपसी भाइचाराको रुपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुश्लिम युवाले पनिसँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप अध्यक्ष परमेश झाले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए ।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन् । मिनापका अध्यक्ष झाले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । जसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ ।

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७