ऋण काढेर ल्याएको पैसाले पनि बचेनन् श्रीमान, लाश उठाउने पैसा नहुँदा दुई दिनदेखि रुँदै श्रीमती


०८:५८ बजे

बलेवा, १८ फागुन । धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन ।

धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आएका विकको मृत्युपछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ ।

छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।

‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’,मृतका दाजु बलहादुर विकले भने, ‘नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।’

भाइको मृत्यु खबर पाए लगत्तै गाडीभाडा समेत ऋण खोजेर बागलुङ बजार आएका विकले सबैसँग सहयोगका लागि अपिल गरेका छन् । ‘भाइको मृत शरीरले समेत सुःख पाएन’ विकले थपे, ‘घाटमा पुर्‍याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।’

परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताए । छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् ।

स्थानीय पत्रकार सज्जनकुमार सिंहले भने, ‘पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोशिस भइरहेको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७