धनकुटाका कांग्रेसीलाई योगेशले भने,‘इतिहास-आर्दश भुलेर गन्हाएको सिनो नबोक्नुहोस्’

धनकुटा : नेकपा (एमाले)का सचिव तथा पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो मुल्य, मान्यता र आर्दश भुलेको बताएका छन् । धनकुटाका कांग्रेसले सुनिलबहादुर थापालाई मत मागेर आफ्नो इतिहास, आर्दश र अग्रजलाई भुलेको दाबी गरे ।

शनिबार पाख्रीबासमा वामगठबन्धनले गरेको चुनावीसभालाई सम्बोधन गर्दै सचिव भट्टराईले धनकुटाका कांग्रेसले राप्रपा(प्रजातान्त्रिक)का उम्मेदवार थापा मत माग्नु बिडम्बना भएको बताए । धनकुटाका कांग्रेसले थापालाई मत मागेर हिड्नु विपी, सहिद भिमनारायण श्रेष्ठ र खोकु छिन्ताङका जनताहरुप्रतिको अपमान भएको बताए । उनले सोधे,‘जसले विपीलाई फासी दिनु पर्छ भनेर मुद्दा लड्यो, जसले भिमनारायण श्रेष्ठललाई फासीदियो । खोकु–छिन्ताङ्गका जनताको रगतमा होली खेल्यो । तिनैका सन्तानलाई किन बोकेर हिडिरहेको छ कांग्रेस ? यो इतिहास र अग्रजप्रतिको अपमान हो ।’ उनले विपी, गणेशमान र किसनुजीले देखेको सपना अब कांग्रेसको वर्तमान नेतृत्वले पुरा गर्न नसक्ने बताए । अब विपी, गणेशमानहरुको सपना वामगठबन्धनले नै पुरा गर्ने बताए । विपीको राष्ट्रियता कांग्रेसले पोलेर खाइसकेको उनको जिकिर छ ।
नेपालमा सामन्तवाद सदाका लागि समाप्त भएको भन्दै धनकुटामा पनि सामन्तवादको अन्त्य जरुरी भएको बताए । सामन्तवादमा मात्रै विरासतको राजनीति चल्ने भन्दै सुनिलबहादुर सामन्तवादको अवेशषको रुपमा रहको बताए । उनले भने, ‘धनकुटामा सामन्तवादको प्रेत जाग्न खोज्दैछ, अब यो प्रेतलाई खरानी बनाएर तमोरमा बगाइदिनुपर्छ ।’कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको उनको आरोप छ । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता गन्हाएको सिनो बोक्नु कांग्रेसको आर्दश विपरित भएको उनको भनाई छ ।
