जनप्रतिनिधि र कर्मचारीको मर्यादाक्रम हेरहेर, अब को भन्दा को माथि ?


२०७५ पौष २२ आइतबार १४:२१ बजे

काठमाडौं, २२ पुस । सरकारले जनप्रतिनिधि र सरकारी कर्मचारीहरुको नयाँ मर्यादाक्रम निर्धारण गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद वैठकमा जनप्रतिनिधिलाई सरकारी कर्मचारीभन्दा माथि रहने गरी नयाँ मर्यादाक्रमका लागि प्रस्ताव गरिएको छ । मर्यादाक्रममा थप गृहकार्य गर्ने काम सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

सञ्चारमन्त्री बास्कोटा र मुख्य सचिव रेग्मीले केही विषय मिलाएपछि अबको मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम पारित हुने उच्चस्तरीय समाचार स्रोतले जानकारी दिएको छ । संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुनेछ । अहिले पनि सोही व्यवस्था रहेकोमा अब सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अन्य ठाउँमा संघीय सरकारमा मन्त्री माथि रहने छन् ।

त्यस्तै प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएका प्रदेश मन्त्रीसँगै प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरुभन्दा माथि राखिएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम पनि मुख्य सचिवभन्दा माथि हुने भएको छ । संघीय राजधानी भएका महानगरका मेयरको मर्यादाक्रम मन्त्री सरह हुने गरेको भन्दै केही मन्त्रीले महानगरका मेयरलाई राज्यमन्त्री सरहको मर्यादाक्रममा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सहमति नजुटेपछि काठमाडौंका मेयरको मर्यादाक्रम सांसदहरुको सरह हुने भएको छ ।

काठमाडौं बाहेक अन्य महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा तलै हुनेछ । काठमाडौं महानगरको प्रशासकीय अधिकृत नै सरकारको सचिव हुने भएकाले मेयरको मर्यादाक्रम माथि पारिएको हो । नगरपालिका मेयरको मर्यादाक्रम पनि सहसचिव भन्दा माथि हुनेछ ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा माथि प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ । जनप्रतिनिधिलाई कर्मचारी भन्दा फरक ढंगले मर्यादाक्रममा मिलाउन खोजिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

त्यस्तै नगरपालिकाका मेयरलाईसहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत बुझाएका थिए । उनीहरुले मर्यादाक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका छन् ।

नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले इलेक्टेड र सेलेक्टेडहरुको अलग अलग मर्यादाक्रम निर्धारण हुनुपर्ने बताएका छन् । राजनीतिज्ञलाई सचिव र उपसचिवभन्दा तल पारेर बनाइएको मर्यादाक्रम स्वीकार्य नहुने भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७