आफ्नै जिल्ला सभापतिले भने, ‘देउवा इतिहासकै ‘निकम्मा’ कांग्रेस सभापति’


२०७५ मङ्सिर १३ बिहीबार १५:०५ बजे

नुवाकोट, १३ मंसिर । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई इतिहासकै ‘निकम्मा सभापति’ को संज्ञा दिएका छन् ।

नुवाकोटको ककनीमा आयोजित जिल्ला सभापतिहरुको भेलामा सार्वजनिक रुपमै उनले देउवाको नेतृत्वमा अब कांग्रेस अगाडि बढ्न नसक्ने दावी समेत गरे । पार्टी सभापति देउवा सबै कार्यकर्ताको अभिभावक बन्ने भन्दा पनि सानो घेरामा रमाउने मान्छे भएको आरोप लगाउँदै नेता केसीले देउवाबाट कांग्रेसले सहि नेतृत्व नपाउने आरोप लगाए ।

कांग्रेसद्वारा प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै आयोजित कांग्रेस जिल्ला सभापतिहरुको ककनी भेलामा बोल्दै उनले सभापति देउवा सिङ्गो कांग्रेसको नभई प्रजातान्त्रिक कांग्रेसको मात्रै सभापति भइरहेको आरोप लगाए ।

उनले भने, ‘देउवाले विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलाई मात्रै पदाधिकारी नियुक्त गर्नुभयो ।’ देउवाप्रति निकै आक्रोशित देखिएका जगदीशनरसिंह केसीले थपे, प्रजातान्त्रिक कांग्रेसका नेताहरुलाई मात्र काखी च्यापेर कांग्रेस चल्दैन । देउवामा पार्टी चलाउने हैसियत देखिएन ।’

शेरहादुर देउवा सभापति भएपछि पार्टीमा गुटैगुट जन्मिएको आरोप लगाउँदै नेता केसीले भने, ‘देउवा गुटको सभापति हुन्, उनीबाट पार्टी चल्दैन भन्ने कुरा आफैले देखाइसकेका छन् ।’

उनले पार्टीको प्रस्तावित विधान जस्ताको त्यस्तै पारित भए पार्टीको निर्वाचित संस्था भङ्ग हुन सक्ने बताउँदै विधान सच्याउन माग गरेका छन् । ‘प्रस्तावित विधानको संक्रमणकालीन व्यवस्थाको भाग २ मा निर्वाचित संस्था पनि भङ्ग गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

विधान जस्ताको तस्तै पारित भयो भने, यो विधान आएको भोलिपल्ट नुवाकोटा कांग्रेस पनि भङ्ग हुन सक्ने भयो’, केसीले भने, ‘प्रस्तावित विधानमा के लेखियो भने निर्वाचित संस्था पनि भङ्ग हुन सक्ने व्यवस्था विधानमा आएको रहेछ, यो खारेज हुनुपर्छ ।’

यता नेताहरुले कांग्रेस जिल्ला सभापतिहरुको भेला देउवाले रोक्न चाहँदा चाहँदै भएको बताएका छन् । पार्टी सभापति देउवाको इच्छा विपरीत भएको भेलामा उनी निकटका सभापतिहरूको उपस्थिति पनि कम रह्यो । विधान मस्यौदा समितिमा रहेका ललितपुर जिल्ला सभापति मदन अमात्य विधान समितिमा भएकै कारणले उपस्थित भएका छन् ।

उनले विधानमा सभापतिको क्षेत्राधिकारका विषयमा जानकारी गराउनु पर्ने कारणले उपस्थित भएको बताइएको छ । असारको पहिलो साता जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनको आयोजक बनेका मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ पनि उपस्थित भएनन् । बानियाँ देउवा निकट हुन् ।

पार्टी सभापतिको गृह प्रदेश अर्थात् प्रदेश ७ बाट एक मात्रै जिल्ला सभापति सहभागी भएका छन् । प्रदेश ७ बाट दार्चुला सभापति ललित सिंह बोहोरा मात्रै ककनी आए । प्रदेश ७ मा नौ जिल्ला छन् । पार्टी उप सभापति विमलेन्द्र निधि निकट धनुषा सभापति पनि उपस्थित भएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७