डा. केसीको अनसन हालसम्मकै लामो, केसीको अडान नै वार्ताको वाधक


२०७५ श्रावण ७ सोमबार १२:०८ बजे
काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीले हालसम्मकै लामो अनसन बसेर विगतको आफ्ना रेकर्ड ‘ब्रेक’ गरेका छन् । केसीको १५ औं अनसन आज (सोमबार) २४ दिन पुगेको छ । यसअघि डा. केसीले सबैभन्दा बढी २३ दिनसम्म मात्र अनसन बसेका थिए । ११औं अनसन अन्तर्गत उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका थिए । अनसन बसिरहेकै बेला देशमा बाढी–पहिरोले ठूलो धनजनको क्षति हुन थालेपछि उनले अनसन स्थगित गरेका थिए । यस पटक भने त्यो रेकर्डलाई पनि तोडेर डा. केसीको अनसन अहिलेसम्मकै लामो बनेको छ । तर, अझै डा. केसी र सरकारबीच संवादको वातावरण बन्न सकेको छैन । सरकारले आफू वार्ताका लागि तयार रहेको पटक–पटक दोहो¥याईरहे पनि डा. केसीले सरकारको आह्वानलाई अस्वीकार गर्दै आएका छन् । सरकारको उच्च तहको टोलीसँग मात्र वार्ता गर्ने, माथेमा आयोगले बुझाएको प्रतिवेदन अनुसार संसदमा विधेयक पास हुनु पर्ने ग्यारेन्टी भए मात्र वार्तामा बस्ने डा. केसीको अडानका कारण वार्ताको वातावरण बन्न सकिरहेको छैन । यता सरकारले भने डा. केसीलाई पहिला अनसन त्यागेर स्वस्थ र सौहार्दपूर्ण रुपमा वार्तामा आउन आग्रह गरिरहेको छ । गत असार १६ गतेदेखि जुम्लामा अनसन बसिरहेका डा. केसीलाई सरकारले बलपूर्वक गत बिहीबार काठमाडौं ल्याएको थियो । अहिले डा. केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसन बसिरहेका छन् । सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले राख्दै आएका छन् । सरकारले संसदमा दर्ता गराएको विधेयकमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी पनि सम्बन्धन दिन सक्ने, काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न मिल्ने तथा अस्पताल सञ्चालन गर्ने बित्तिकै मेडिकल कलेज खोल्न मिल्ने व्यवस्था गरिएको छ । डा. केसीले भने यस विपरीतको माग राख्दै आएका छन् । डा. अभिषेकराज सिंहको संयोजकत्वमा डा. केसीको वार्ता टोली बनेको छ भने शिक्षा सचिव खगराज बराल नेतृत्वमा सरकारी वार्ता टोली बनाइएको छ । केसी पक्षले पहिले संसदबाट शिक्षा विधेयक फिर्ता लिएर मात्र वार्तामा बस्ने अडान लिंदै आएको छ भने सरकारले पनि विधेयक फिर्ता लिने संकेत गरेको छैन । दुई पक्षको आ–आफ्नै अडानका कारण वार्ता अघि बढ्न सकेको छैन । डा. केसीको समर्थनमा नागरिक समाजका अगुवाहरू समेत सडकमा उत्रिएका छन् । उनीहरू आइतबारदेखि काठमाडौंको वसन्तपुर डबलीमा सामुहिक सत्याग्रहमा छन् । सामुहिक सत्याग्रह सोमबार पनि बिहान १० बजेदेखि जारी रहने उनीहरूले बताएका छन् । यता डा. केसीको अनसनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भइरहेको छ । डाक्टरहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विरामीले उपचार पाउन सकेका छैनन् । जसका कारण विरामीका आफन्तहरु आक्रोशित बन्न थालेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७