परदेशी श्रमिकका दुःख, सङ्घर्ष र आशाको कथा ‘खदामा’


२०८३ असोज १८ आइतबार ०८:४६ बजे

काठमाडौं : कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ सार्वजनिक गरिएको छ। 

बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको उक्त कृतिमाथि टिप्पणी गर्दै समीक्षकहरूले वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, सङ्घर्ष र आशालाई कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताएका छन्।

त्यस अवसरमा समीक्षक नवीन विभाषले ‘खदामा’लाई नेपाली समाजको श्रमजीवी वर्गको प्रतिनिधि कथासङ्ग्रहका रूपमा व्याख्या गरे। कृतिमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, त्यस क्रममा विशेषगरी महिलाले भोग्ने उत्पीडन र कठिन परिस्थितिबीच देखिने आशावादी स्वरलाई कथाकारले समेटेको उनले बताए।

बहुभाषिक तथा पारलैङ्गिक पात्रलाई समेत कथाको विषय बनाइएको उल्लेख गर्दै विभाषले कृतिले नेपाली खस भाषालाई थप समृद्ध बनाउन योगदान दिएको बताए।

यस्तै समीक्षक विभूति भट्टराईले पनि ‘खदामा’लाई वैदेशिक रोजगारीको पीडा र संघर्षलाई केन्द्रमा राखिएको कृतिका रूपमा चर्चा गरिन्।

खाडी मुलुकमा रोजगारीका लागि जाने नेपाली महिलाले भोग्ने पीडालाई कृतिले प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले यसलाई वैदेशिक रोजगारीसँग सम्बन्धित महत्त्वपूर्ण कथा कृतिका रूपमा प्रस्तुत गरिन्।

कृतिमा समेटिएका कथाले नेपाली युवालाई प्रेरित गर्ने सामर्थ्यसमेत राख्ने उनले बताइन्।

यसैगरी लेखक महेन्द्र महकले आफू वैदेशिक रोजगारीका क्रममा अरबमा रहँदा देखे, भोगे र महसुस गरेका अनुभवलाई कथाको रूप दिएको बताए।

कार्यस्थलदेखि अरबका गल्लीसम्म आफूले नजिकबाट देखेका श्रमिकका दुःख, पीडा र अनुभवलाई कथासङ्ग्रहमा समेटिएको उनको भनाइ छ।

सल्यानको ग्रामीण परिवेशबाट भारतको सिमला हुँदै संयुक्त अरब इमिरेट्ससम्मको श्रम–यात्रा महकको जीवनको महत्त्वपूर्ण अध्याय हो।

किशोरावस्थामै श्रमको संसारमा प्रवेश गरेका उनले परदेशमा न्यून पारिश्रमिकमा काम गर्ने श्रमिकले भोग्ने दुःख, सङ्घर्ष, एक्लोपन, आशा र ससाना खुसीलाई नजिकबाट अनुभूत गरेका थिए।

त्यही अनुभव र अनुभूतिलाई उनले साहित्यिक स्वरूप दिँदै ‘खदामा’का कथामा श्रमिक जीवन, सामाजिक विस्थापन र मानवीय संवेदनाका विभिन्न पक्ष प्रस्तुत गरेका छन्।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि लोकसेवा परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका महक हाल नेपाल सरकारका उपसचिव छन्।

प्रशासनिक जिम्मेवारीसँगै साहित्यिक यात्रालाई अघि बढाइरहेका उनको ‘खदामा’ पहिलो कथासङ्ग्रह हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७