वैवाहिक विवादबारे हर्कको स्पष्टीकरण : २०–२५ वर्षअघिको कुरा हो, आरोप सबै मिथ्या हुन्
विराटनगर : श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पुरानो वैवाहिक विवाद फेरि चर्चामा आएको छ। कारण हो—उनकी जेठी श्रीमती दिलमाया राईले दायर गरेको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७६ सालमा गरेको फैसला, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
फैसला सार्वजनिक भएपछि साम्पाङले भने आफूले जेठी श्रीमतीसँग धेरै वर्षअघि नै कानुनी रूपमा अलग भइसकेको र आफूमाथि लगाइएका घरेलु हिंसाका आरोप मिथ्या भएको दाबी गरेका छन्।
दिलमाया राईले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको थियो।
फैसलामा हर्क साम्पाङका दाजुभाइसहित सगोलको सम्पत्तिमा पाँच अंशियार कायम गरिएको थियो। अदालतले हर्क साम्पाङ, उनका दाजु आशयकुमार राई तथा एकराज राई, आमा जसमाया राई र धनकुमारी राईलाई पाँच अंशियार मानेको थियो।
अदालतले गरेको ठहरअनुसार सगोलको सम्पत्ति पाँच भाग लगाएर हर्कको भागमा पर्ने अंशलाई समेत उनी, उनकी पत्नी दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाउनुपर्ने र त्यसमध्ये दिलमायालाई एक भाग अंश दिनुपर्ने उल्लेख गरिएको छ।
अदालतको फैसला मुख्यतः अंशसम्बन्धी विवादमा केन्द्रित थियो। तर, मुद्दा दायर गर्दा दिलमायाले वैवाहिक सम्बन्धका क्रममा आफूले भोगेको भनिएको घरेलु हिंसाका विषयसमेत फिरादपत्रमा उल्लेख गरेकी थिइन्।
दिलमायाले वैवाहिक जीवन सुरु भएदेखि नै हर्कसँग झैँ-झगडा र कुटपिट हुने गरेको दाबी गरेकी थिइन्। उनले हर्कमाथि परस्त्रीसँग सम्बन्ध राखेको आरोपसमेत लगाएकी थिइन्।
विदेशमा रोजगारीमा गएर फर्किएपछि पनि आफूमाथि हिंसा भएको र प्रहरीमा उजुरी गरेपछि घरबाट निकालिएको उनको दाबी थियो। फिरादपत्रमा आफूलाई घरमा बस्न नदिने र खान–लाउनसमेत नदिने भन्दै कुटपिट गरी घरबाट निकालिएको दाबी गरिएको थियो।
अदालतको पुरानो फैसला सामाजिक सञ्जालमा भाइरल भएपछि साम्पाङले भने घटनालाई फरक रूपमा प्रस्तुत गरेका छन्। जेठी श्रीमतीसँगको सम्बन्ध आजभन्दा करिब २० देखि २५ वर्षअघि नै टुंगिएको हर्कले स्पष्टीकरण दिएका छन्। उनले आफूले १२ वर्षसम्म सम्बन्ध सुधारको प्रतीक्षा गरेको तर जेठी श्रीमतीकै इच्छाअनुसार कानुनी रूपमा अलग भएको स्पष्ट पारेका छन्।
साम्पाङले भने, ‘मैले १२ वर्ष पर्खँदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै छुट्टिएका हौँ । यो आजभन्दा करिब २० देखि २५ वर्ष अघिको कुरा हो ।’
त्यसपछि पुनः मिलनको प्रस्ताव राख्दा जेठी श्रीमतीले अस्वीकार गरेकको उनले बताएका छन्। त्यसपछि आफूहरूबीच मुद्दा परेको उनको भनाइ छ।
नेता साम्पाङले आफूले जेठी श्रीमतीमाथि घरेलु हिंसा नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको अदालतको फैसला र त्यससँग जोडेर लगाइएका आरोपलाई उनले मिथ्या भनेका छन्।
कन्टेन्ट क्रिएटरहरूसँग कुरा गर्दै उनले आफू प्रश्नहरूबाट नभाग्ने बताएका छन्।
साम्पाङले छोरीको जिम्मेवारी नलिएको भन्ने सामाजिक सञ्जालमा उठेका प्रश्नको पनि खण्डन गरेका छन्। उनले छोरीलाई आफूले नै पढाएको र विवाह नभएसम्म आफूसँगै राखेर हुर्काएको दाबी गरेका छन्।
दिलमाया हाल वैदेशिक रोजगारीमा रहेको बताइएको छ। उनी लामो समय दुबईमा बसेको र हाल इजरायल पुगेको बताइन्छ। उनकी छोरी भने धरानमा बस्दै आएकी छन्।
पुरानो मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा चर्चामा आएपछि हर्क साम्पाङको वैवाहिक जीवनसँग जोडिएका पुराना विषय पुनः सार्वजनिक बहसमा आएका छन्।
.gif)

.png)


