मेस्सी मैदानमा फर्किए, मियामी बराबरीमा रोकियो


२०८३ श्रावण १७ आइतबार १६:१२ बजे

एजेन्सी ।  विश्वकप फाइनल सम्पन्न भएको १३ दिनपछि अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी इन्टर मियामीका लागि मैदानमा फर्किएका छन्। दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीको पुनरागमनमा भने इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत कोलम्बस क्रुसँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।

मियामीको घरेलु मैदानमा भएको खेलमा ३९ वर्षीय मेस्सी सुरुआती रोजाइमा परेका थिएनन्। उनी खेलको ५३औँ मिनेटमा डानिएल पिन्टेरको स्थानमा मैदान प्रवेश गर्दा समर्थकहरूले भव्य स्वागत गरेका थिए।

मैदान छिरेको तीन मिनेटमै मेस्सीले लुइस स्वारेजको पासमा उत्कृष्ट अवसर सिर्जना गरेका थिए। तर उनको बायाँ खुट्टाको प्रहार पोस्टभन्दा थोरैले बाहिरिँदा गोल हुन सकेन।

मियामीका लागि पहिलो हाफमा लुइस स्वारेज चम्किए। उनले लामो दूरीबाट आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए भने नोआ एलेनको गोलका लागि पनि निर्णायक पास उपलब्ध गराए। कोलम्बसले भने पहिलो हाफमै कासेमिरोको आत्मघाती गोलबाट खेल बराबरीमा ल्याएको थियो।

खेलको ८४औँ मिनेटमा ब्राइस मेन्डेजले फ्रिकिकलाई गोलमा परिणत गरेपछि कोलम्बसले २–२ को बराबरी गर्दै मियामीलाई पूरा तीन अंक लिनबाट रोक्यो। मियामीका मुख्य प्रशिक्षक गुइलेर्मो होयोसले अन्तिम समयमा जित गुमाउनु निराशाजनक भएको प्रतिक्रिया दिँदै मेस्सी, रोड्रिगो डे पल तथा सम्पूर्ण टोलीको प्रदर्शनको प्रशंसा गरे।

मेस्सीले हालै सम्पन्न विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्‍याएका थिए। तर अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो।

विश्वकपपछि आरामका कारण मेस्सी र रोड्रिगो डे पलले इन्टर मियामीका दुई एमएलएस खेल तथा एमएलएस अल–स्टार खेल गुमाएका थिए। मेस्सीले यसअघि मे २४ मा फिलाडेल्फिया युनियनविरुद्ध क्लबका लागि आफ्नो अन्तिम खेल खेलेका थिए।

यस बराबरीपछि इस्टर्न कन्फ्रेन्सको शीर्षस्थानमा रहेको नासभिल एससीभन्दा इन्टर मियामी दुई अंकले पछाडि रहेको छ। अब मियामीले लिग्स कपअन्तर्गत एट्लेटिको सान लुइस, मोन्टेरे र लियोनविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७