इरान युद्धबाट बाहिरिन खोजिरहेका ट्रम्प अप्ठ्यारोमा : साउदी शान्ति चाहन्छ, इजरायल युद्ध

हवाई शक्तिको पनि सीमा हुन्छ, हवाई आक्रमणले मात्र युद्ध जितिँदैन : अमेरिकी सैन्य प्रमुख


२०८३ श्रावण १६ शनिबार ०५:५७ बजे

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्ध अन्त्य गर्ने प्रयासमा रहेका बेला उनीमाथि मध्यपूर्वका प्रमुख साझेदारहरूबाट विपरीत सन्देशहरू आइरहेका छन्। साउदी अरेबियाले तनाव घटाउन आग्रह गरेको छ भने इजरायलले इरानमाथि थप कडा सैन्य र आर्थिक दबाब बढाउन सुझाव दिएको छ।

सीएनएनका अनुसार साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई भेट्दै युवराज मोहम्मद बिन सलमानको सन्देश दिएका थिए। साउदी नेतृत्वले युद्ध लम्बिँदा मध्यपूर्वको सुरक्षा र स्थायित्वमा गम्भीर जोखिम उत्पन्न हुने भन्दै तत्काल तनाव कम गर्नुपर्ने धारणा राखेको छ।

त्यसको एक दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भेटेर इरानसँगको कूटनीतिक वार्ताबाट ठोस उपलब्धि नआउने दाबी गर्दै सैन्य तथा आर्थिक दबाब अझ बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले आवश्यक परे पूर्णस्तरको युद्ध पुनः सुरु गर्ने विकल्पबारे समेत छलफल गरेका थिए।

युद्ध लम्बिँदै जाँदा ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट पनि दबाब बढेको छ। पार्टीका नेताहरूले युद्धका कारण तेलको मूल्य वृद्धि र त्यसको असर आगामी मध्यावधि निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यसबीच अमेरिकी सेनाले इरानमाथि थप सैन्य कारबाहीका विभिन्न विकल्प ट्रम्पसमक्ष प्रस्तुत गरेको छ। तीमध्ये एक योजनामा एक वा दुई सातासम्म व्यापक हवाई आक्रमण गरी इरानको क्षेप्यास्त्र क्षमता ध्वस्त पार्ने प्रस्ताव रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

यद्यपि अमेरिकी संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनले हवाई आक्रमण मात्रबाट युद्धका सबै उद्देश्य हासिल गर्न नसकिने बताएका छन्। उनले 'हवाई शक्तिको पनि सीमा हुन्छ' भन्दै थप सैन्य कारबाहीको जोखिमबारे चेतावनी दिएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानको पुल, जल प्रशोधन केन्द्रलगायत पूर्वाधारमा आक्रमण गर्ने विकल्पसमेत विचार गरे पनि त्यसबाट ठूलो मानवीय क्षति हुने चिन्ताका कारण हालसम्म अन्तिम निर्णय गरेका छैनन्।

युद्धको केन्द्र अहिले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुज जलडमरूमध्य बनेको छ। क्षेत्रीय मुलुकहरूबीच उक्त जलमार्ग पुनः सञ्चालन गराउने विषयमा कूटनीतिक पहल जारी रहेको जनाइएको छ।

ह्वाइट हाउसले भने इरानले अमेरिकी सर्तअनुसार वार्तामा नआएसम्म उसले 'मूल्य चुकाइरहनुपर्ने' चेतावनी दिएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौता उल्लंघन गरेको, व्यापारिक जहाजमाथि आक्रमण गरेको र अमेरिकी सैनिकको हत्या गरेको आरोप लगाएका छन्।

यसैबीच कतार र पाकिस्तानलगायतका मध्यस्थकर्ताले वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेका भए पनि अमेरिकी अधिकारीहरूले इरानभित्र निर्णय प्रक्रिया अहिले मुख्यतः इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) को नियन्त्रणमा पुगेको विश्वास गरेका छन्। उनीहरूका अनुसार यही कारण युद्ध चाँडै अन्त्य हुने सम्भावना कमजोर देखिएको छ।

उता ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनरले अझै पनि इरानसँग सम्झौता सम्भव रहेको विश्वास व्यक्त गरेका छन्। तर नेतन्याहु कूटनीतिक समाधानप्रति आशावादी छैनन् भने साउदी अरेबियाले युद्ध थप विस्तार हुन नदिन तत्काल तनाव कम गर्नुपर्नेमा जोड दिएको छ। यही परस्पर विरोधी दबाबबीच राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धलाई कसरी अघि बढाउने भन्ने निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७