इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावनी
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ।
आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार युद्धले विश्व अर्थतन्त्रमा पुनः अस्थिरता बढाएको छ। विशेषगरी होर्मुज जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्तिमा गम्भीर असर परेको उल्लेख गरिएको छ।
तेल, ग्यास र खाद्य पदार्थको मूल्य आगामी वर्षसम्म उच्च रहिरहेमा सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिइएको छ।
आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिवियर गोरिनचासले भने, 'यसले विश्वमा मन्दीसरहको अवस्था सिर्जना गर्न सक्छ, जसका कारण बेरोजगारी बढ्नेछ र खाद्य असुरक्षा गहिरिनेछ ।'
गम्भीर परिदृश्यमा यस वर्ष तेलको औसत मूल्य प्रतिब्यारेल ११० डलर र सन् २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यससँगै २०२७ मा विश्वव्यापी मुद्रास्फीति दर ६ प्रतिशतसम्म पुग्न सक्ने उल्लेख छ।
यस्तो अवस्थामा केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउन सक्नेछन्, जसले आर्थिक गतिविधि थप सुस्त बनाउन सक्ने बताइएको छ।
तर, आगामी हप्ताहरूमा युद्ध अन्त्य भई ऊर्जा उत्पादन र निर्यात सामान्य अवस्थामा फर्किएमा सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर ३.१ प्रतिशतसम्म पुग्न सक्ने आईएमएफले जनाएको छ।
आईएमएफका अनुसार विकसित अर्थतन्त्रमध्ये बेलायत ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुन सक्नेछ। सन् २०२६ का लागि बेलायतको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।
यस्तै, खाडी क्षेत्रका तेल उत्पादक देशहरूमा यस वर्ष आर्थिक सुस्ती वा संकुचन देखिन सक्नेछ भने इरानको अर्थतन्त्र सन् २०२६ मा ६.१ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ।
.gif)

.png)

