इरान युद्धको खर्च अनुमानभन्दा ४ अर्बले बढ्यो
अमेरिकाको हतियार भण्डार रित्तिँदै
काठमाडौँ: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा हालसम्म २९ अर्ब डलर खर्च भइसकेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियान र यसले राज्यकोषमा पारेको प्रभावबारे चर्को आलोचना खेपिरहेका बेला यो खर्च विवरण बाहिर आएको हो।
क्यापिटल हिलमा आयोजित बजेट सुनुवाइका क्रममा रक्षा विभागले यो आँकडा प्रस्तुत गरेको हो। यो रकम रक्षा सचिव पिट हेगसेथले दुई साताअघि गरेको अनुमानभन्दा ४ अर्ब डलरले बढी हो। सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेटबारे बहस भइरहँदा सांसदहरूले युद्धको वास्तविक खर्च सार्वजनिक गर्न माग गरेका थिए। पेन्टागनका वित्त प्रमुख जुल्स हर्स्ट तृतीयले सुरुमा २५ अर्ब डलर अनुमान गरिए पनि विस्तृत अध्ययनपछि यो खर्च २९ अर्ब डलरको हाराहारीमा पुगेको जानकारी दिए।
सुनुवाइका क्रममा सांसदहरूले युद्धको कुल लागत र प्रशासनको दीर्घकालीन रणनीतिबारे प्रश्न उठाएका छन्। हाउस एप्रोप्रिएशन कमिटीकी रोजा डेलाउरोले युद्धको उपलब्धि र लागतमाथि प्रश्न गरिन् भने अर्की सांसद बेट्टी म्याककोलमले पारदर्शिताको अभाव रहेको भन्दै थप बजेट अनुमोदन गर्नुअघि स्पष्टता खोजेकी छन्।
पश्चिम एसियामा जारी क्षेप्यास्त्र र हवाई आक्रमणका कारण अमेरिकाको हतियार भण्डार रित्तिँदै गएकोमा पनि चिन्ता व्यक्त गरिएको छ। यद्यपि, रक्षा सचिव हेगसेथले भने हतियार अभावको चेतावनीलाई 'मूर्खतापूर्ण' भन्दै अस्वीकार गरेका छन्। उनले अमेरिकासँग आवश्यक मात्रामा युद्ध सामग्री सुरक्षित रहेको दाबी गरे। यता, राष्ट्रपति ट्रम्पले तेहरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गर्दै युद्धविरामलाई केवल मानवीय सहायताको रूपमा मात्र हेर्न सकिने चेतावनी दिएका छन्।
.gif)

.png)

