इरान युद्धको विषयमा ट्रम्प प्रशासनभित्र मतभेद: सेना प्रमुखले भने, ‘हतियार भण्डार घट्दै, युद्ध लम्बिन सक्छ’

उपराष्ट्रपति जेडी भान्स र सेना प्रमुख जनरल ड्यान केन युद्धको विपक्षमा


२०८३ श्रावण १० आइतबार १२:११ बजे

काठमाडौं :  इरानविरुद्धको युद्ध थप चर्काउने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनभित्र मतभेद देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार ह्वाइट हाउसमा भएको उच्चस्तरीय बैठकमा उपराष्ट्रपति जेडी भान्स र अमेरिकी सेनाका संयुक्त चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले युद्ध थप विस्तार गर्न नहुने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

सीएनएनका अनुसार शुक्रबार रातिदेखि अमेरिकाले करिब दुई सातादेखि लगातार जारी राखेको इरानमाथिको हवाई आक्रमण अस्थायी रूपमा रोकेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक स्रोतका अनुसार अहिले सैन्य कारबाही 'होल्ड' अर्थात् स्थगित अवस्थामा राखिएको छ।

बैठकका क्रममा जनरल केनले अमेरिकी हतियार भण्डार तीव्र रूपमा घट्दै गएको विषय उठाएका थिए। उनले ट्रम्पलाई अमेरिकी सेनासँग उपलब्ध सबै सैन्य विकल्प सफलतापूर्वक कार्यान्वयन गर्न सकिने बताए पनि त्यसका सम्भावित नकारात्मक परिणामबारे पनि चेतावनी दिएका थिए। स्रोतहरूका अनुसार हतियारको भण्डार घट्नु ट्रम्पसमक्ष उठाइएका प्रमुख चिन्तामध्ये एक थियो।

यद्यपि यही कारणले आक्रमण रोकिएको हो वा युद्ध थप फैलिने जोखिमका कारण यस्तो निर्णय गरिएको हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले राष्ट्रपति ट्रम्पले सधैं कूटनीतिक समाधानलाई प्राथमिकता दिएको, तर आवश्यक परे सबै सैन्य विकल्प खुला राखेको बताएका छन्। उनले इरानले होर्मुज जलडमरूमध्य वा अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण जारी राखेमा अमेरिका आवश्यक कदम चाल्न तयार रहेको स्पष्ट पारे।

चेउङले इरानमाथि लगाइएका कडा आर्थिक प्रतिबन्ध र लगातार १३ दिनसम्म गरिएका सैन्य आक्रमणले इरानलाई कमजोर बनाएको दाबी गर्दै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्। अन्यथा त्यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।

यसअघि पनि सीएनएनले अमेरिकी हतियारको भण्डार उल्लेखनीय रूपमा घटेको र इरानमाथिको आक्रमण लम्बिए थप दबाब पर्न सक्ने समाचार सार्वजनिक गरेको थियो।

शुक्रबार मन्त्रिपरिषद् र सुरक्षा सल्लाहकारहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका अझै इरानसँग सक्रिय वार्तामा रहेको बताए। उनले आवश्यक परे बमबारी पुनः सुरु गर्न वा अझ तीव्र बनाउन सकिने संकेत पनि दिए। साथै, वार्तामा इरान पहिलेभन्दा बढी गम्भीर देखिएको उनको दाबी थियो।

स्रोतहरूका अनुसार शुक्रबारसम्म पनि ट्रम्प प्रशासनले युद्ध थप चर्काउने अवस्था आए त्यसको स्वरूप कस्तो हुने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको थियो। खाडी क्षेत्रका मुलुकहरूले अमेरिकी अधिकारीहरूसँगको संवादमा संयमता अपनाउन आग्रह गरेका छन्। यद्यपि आवश्यक परे अमेरिका सैन्य रूपमा अझ प्रभावकारी कारबाही गर्न सक्षम रहेको उनीहरूले स्वीकार गरेका छन्।

सीएनएनका अनुसार ट्रम्पले यसअघि इरानमाथि ठूलो आक्रमणको सम्भावना सार्वजनिक रूपमा व्यक्त गरे पनि निजी रूपमा आफ्ना वार्ताकारहरूलाई इरानसँग संवाद जारी राख्न निर्देशन दिएका थिए। यसले स्थलगत युद्धमा अमेरिकी सेना पठाउनुभन्दा सीमित सैन्य कारबाही र कूटनीतिक प्रयासलाई सँगसँगै अघि बढाउने रणनीति अपनाइएको संकेत गरेको छ।

रिपोर्टअनुसार ट्रम्पका निकटवर्ती अधिकारी तथा पेन्टागनका धेरै अधिकारीहरूले युद्ध थप चर्काउँदा अपेक्षित नतिजा नआउन सक्ने आकलन गरेका छन्। युद्ध सुरु हुनुअघि नै जनरल केनसहित अमेरिकी सैन्य नेतृत्वले लामो सैन्य अभियानले अमेरिकी हतियारको भण्डारमा गम्भीर असर पार्ने चेतावनी ट्रम्पलाई दिएका थिए।

यद्यपि पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली रहेको र राष्ट्रपति ट्रम्पले आवश्यक ठानेको जुनसुकै समय र स्थानमा कारबाही गर्न पूर्ण रूपमा सक्षम रहेको बताएका छन्। उनका अनुसार विभिन्न क्षेत्रमा सफल सैन्य अभियान सञ्चालन गरिरहँदा पनि अमेरिकी सेनासँग आफ्ना नागरिक र राष्ट्रिय हितको रक्षा गर्न पर्याप्त सैन्य क्षमता र हतियार मौज्दात रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७