इरानसँगको युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर नाघ्यो, थप ८७ अर्ब डलर माग
१८ अमेरिकी सैनिकको मृत्यु
काठमाडौं: इरानसँग जारी युद्धका कारण अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर (झण्डै २८ अर्ब पाउन्ड) खर्च गरिसकेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले बताएका छन्। मे महिनामा सार्वजनिक गरिएको अनुमानभन्दा यो रकम करिब ८ अर्ब डलरले बढी हो।
अमेरिकी सिनेटको एप्रोप्रिएसन (विनियोजन) समितिमा मंगलबार भएको सुनुवाइमा हेगसेथले पेन्टागनका लागि थप ८७ अर्ब डलर बजेट तत्काल स्वीकृत गर्न सांसदहरूसँग आग्रह गरे। यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा सञ्चालन भइरहेका सैन्य अभियानका लागि खर्च गरिने उनले बताए।
सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले पटक–पटक अवरोध गरेका थिए भने अन्त्यमा हेगसेथ र एक डेमोक्र्याट सिनेटरबीच चर्काचर्कीसमेत भएको थियो। इरानसँग पुनः युद्ध सुरु भएपछि क्यापिटल हिलमा हेगसेथको यो पहिलो सार्वजनिक उपस्थिती हो। यसअघि मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएको पुष्टि भएको थियो।
यसैबीच, ह्वाइट हाउसले आगामी आर्थिक वर्षका लागि पेन्टागनलाई १.५ ट्रिलियन डलर बजेट उपलब्ध गराउन अप्रिलमै कांग्रेससँग अनुरोध गरेको थियो। यो स्वीकृत भए आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा बजेट हुनेछ।
अमेरिकाले मंगलबार लगातार ११औँ दिन पनि इरानमाथि हवाई आक्रमण जारी राख्यो। त्यसको जवाफमा इरानले पनि अमेरिका र उसका मध्यपूर्वी सहयोगीहरूमाथि आक्रमण गरिरहेको छ। सुनुवाइको सुरुवातमा हेगसेथले 'हामी अत्यन्त जोखिमपूर्ण विश्वमा बाँचिरहेका छौँ' भन्दै अमेरिका छिटो र साहसी निर्णय लिन बाध्य भएको बताए।
हेगसेथले प्रतिद्वन्द्वी राष्ट्रहरूलाई अमेरिकाभन्दा अगाडि जान नदिन रक्षा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको पनि उल्लेख गरे। 'यी रकम उपलब्ध नभए हामी सैनिकहरूको तलब, हतियार तथा गोलाबारुद पुनः भर्ना गर्ने क्षमता र महत्त्वपूर्ण सैन्य अभियान सञ्चालनमै समस्या आउनेछ,' उनले भने। हेगसेथका अनुसार माग गरिएको प्रत्येक डलर अमेरिकी सेनाको घातक क्षमता बढाउन र ‘शक्तिमार्फत शान्ति’ कायम गर्न प्रयोग गरिनेछ।
डेमोक्र्याट सांसदहरूको विरोध
समिताकी वरिष्ठ डेमोक्र्याट सदस्य प्याटी मरेले थप बजेट मागको विरोध गर्दै यसले सामान्य बजेट प्रक्रिया छल्न खोजेको आरोप लगाइन्। डेमोक्र्याट सिनेटर डिक डर्बिनले युद्धको वास्तविक लागतबारे सोध्दा हेगसेथले ३७.५ अर्ब डलर खर्च भइसकेको जानकारी दिएका थिए।
दुई डेमोक्र्याट स्रोत र एक अन्य अधिकारीका अनुसार युद्धको वास्तविक लागत अझ धेरै हुन सक्छ। अमेरिकी सैन्य अड्डाहरूमा भएको क्षतिको पुनर्निर्माणजस्ता खर्च अहिलेको अनुमानमा समावेश गरिएको छैन। यसअघि १२ मे मा पेन्टागनले युद्ध खर्च २९ अर्ब डलर पुगेको जनाएको थियो। युद्धको पहिलो सातामै ११.३ अर्ब डलर खर्च भएको जानकारी पनि दिइएको थियो।
ट्रम्प प्रशासनमाथि प्रश्न
न्युयोर्ककी डेमोक्र्याट सिनेटर किर्स्टेन गिलिब्रान्डले अमेरिकी नागरिक दैनिक जीवन धान्न संघर्ष गरिरहेका बेला ट्रम्प प्रशासनले “बम किन्न असीमित पैसा” मागिरहेको आरोप लगाइन्। राष्ट्रपतिले युद्ध जितिसकेको दाबी गरिसकेको अवस्थामा किन थप अर्बौं डलर आवश्यक परेको हो भन्ने प्रश्नमा हेगसेथले “सही समयमा सही बम आवश्यक पर्छ” भन्ने जवाफ दिए।
सुनुवाइको अन्त्यमा डेमोक्र्याट सिनेटर ग्यारी पिटर्सले हेगसेथलाई 'असफल' भन्दै ट्रम्प प्रशासनले अर्को “कहिल्यै नसकिने युद्ध” सुरु गरेको आरोप लगाए। त्यसको जवाफमा हेगसेथले “तपाईंलाई लाज हुनुपर्छ” भन्दै पिटर्स 'ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम' बाट ग्रसित रहेको टिप्पणी गरे।
थप बजेट प्रस्तावको विपक्षमा अधिकांश डेमोक्र्याट छन् भने केही रिपब्लिकन सांसदहरूले पनि अन्य क्षेत्रमा खर्च कटौती नगरी नयाँ बजेट थप्न नहुने अडान लिएका छन्। प्रतिनिधिसभा बिहीबारदेखि अवकाशमा जाने र कांग्रेसको दुवै सदन सेप्टेम्बरसम्म संयुक्त रूपमा नबस्ने भएकाले पेन्टागनले मागेको रकम स्वीकृत हुन अझै केही महिना लाग्ने देखिएको छ।
१८ अमेरिकी सैनिकको मृत्यु
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँगको युद्ध फेब्रुअरी २८ देखि सुरु भएको र हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गरेका छन्। मंगलबार पेन्टागनले ३० वर्षीय सार्जेन्ट माइकल इम्यानुएल स्विन्टन इराकमा र २८ वर्षीय सार्जेन्ट एन्जेल र्याम्परसाड जोर्डनमा मृत्यु भएको जनाएको छ।
यसअघि जोर्डनमा मारिएका अन्य दुई सैनिक १९ वर्षीया प्राइभेट इसाबेला गोन्जालेस र २५ वर्षीय फर्स्ट लेफ्टिनेन्ट टायलर फिहानको पनि पहिचान सार्वजनिक गरिएको थियो। बुधबार राष्ट्रपति ट्रम्प डेलावेयरस्थित एक सैन्य हवाई अड्डामा सैनिकहरूको राष्ट्रिय झन्डाले ढाकिएका शव स्वदेश ल्याइँदा श्रद्धाञ्जली दिन जाने कार्यक्रम रहेको छ।
.gif)

.png)

