सुकुम्बासीलाई अर्को दुःख, कीर्तिपुरको होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न निर्देशन

कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन्।


२०८३ असार ९ मंगलबार १४:१३ बजे
फाइल तस्बिर

काठमाडौं : अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ। सोमबारदेखि सुरु भएको यो समयसीमा आगामी शुक्रबारसम्म कायम रहनेछ।

हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गर्दै आएका छन्। समितिले ती परिवारलाई स्व-व्यवस्थापनका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिनुभयो।

कसरी पाइन्छ सहयोग?

सूचना अधिकारी बानियाँका अनुसार, स्व-व्यवस्थापनका लागि सहयोग लिन चाहने परिवारले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्नेछ। निवेदन प्राप्त हुनासाथ सम्बन्धित परिवारको खातामा २५ हजार रुपैयाँ जम्मा गरिदिने प्रक्रिया सुरु गरिनेछ। साथै, आगामी दिनमा वास्तविक सुकुम्बासीको रूपमा प्रमाणित हुनेहरूका लागि मासिक १५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था पनि सरकारले गरेको छ।

अन्य सेन्टरहरू पनि खाली गर्ने तयारी

२०८३ वैशाख महिनामा काठमाडौं उपत्यकाका नदी किनारका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाएपछि हालसम्म २ हजार ६०८ जनाले आफ्नो नाम दर्ता गराएका छन्। सरकारले ती प्रभावित नागरिकहरूलाई विभिन्न होल्डिङ सेन्टरहरूमा अस्थायी व्यवस्थापन गरेको थियो। अहिले तिनै सेन्टरहरूलाई क्रमशः खाली गराएर स्व-व्यवस्थापनमा जोड दिने सरकारको योजना छ।

समितिले कीर्तिपुरबाट यो प्रक्रियाको थालनी गरेको हो। यदि कुनै परिवारले तोकिएको समयभित्र होल्डिङ सेन्टर खाली गर्न नमानेको खण्डमा, उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले थप छलफल र आवश्यक निर्णय लिने सूचना अधिकारी बानियाँले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७