इरानसँगको शान्ति सम्झौतामा उपराष्ट्रपति भान्सले हस्ताक्षर गर्ने
स्विट्जरल्यान्डमा हस्ताक्षर समारोह
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौतामा उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर गर्ने जानकारी दिएका छन्। स्विट्जरल्यान्डमा आयोजना हुने उक्त विशेष समारोहमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन्।
न्युयोर्क टाइम्सलगायतका सञ्चारमाध्यमहरूका अनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्स दुवैले इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफसँग सम्झौताको मस्यौदामा डिजिटल हस्ताक्षर गरिसकेको पुष्टि गरेका छन्। राष्ट्रपति ट्रम्पले फ्रान्समा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भान्स हस्ताक्षर समारोहमा सहभागी हुने स्पष्ट पारेका हुन्। यद्यपि, ट्रम्प स्वयं कार्यक्रममा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने औपचारिक जानकारी दिइएको छैन।
'सम्झौता पत्रको पूर्ण पाठ शुक्रबारपछि सार्वजनिक गरिनेछ,' ट्रम्पले भने। यता, उपराष्ट्रपति भान्सले एबीसी न्युजको कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा बोल्दै गत आइतबार नै डिजिटल माध्यमबाट हस्ताक्षर प्रक्रिया सम्पन्न भइसकेको र सम्झौताको पूर्ण विवरण यसै साताको अन्त्यसम्म सार्वजनिक गरिने जानकारी दिएका छन्।
पाकिस्तान, कतारलगायतका मध्यस्थकर्ता मुलुकहरूको सहकार्यमा तयार पारिएको यो सम्झौताको औपचारिक समारोह आगामी जुन १९ (शुक्रबार) का लागि तय गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका अनुसार उक्त दिन स्विट्जरल्यान्डमा हस्ताक्षर समारोह हुनेछ।
न्युयोर्क टाइम्सका अनुसार, अमेरिकी अधिकारीहरूले उक्त सम्झौतापछि रणनीतिक महत्वको होर्मुज जलमार्ग शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा आउने र यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिलाई थप सहज बनाउने जनाएका छन्। हिन्दुस्तान टाइम्सको रिपोर्टलाई आधार मान्दै उक्त क्षेत्रमा ठूला ट्यांकरहरूको आवतजावतलाई प्राथमिकता दिइने उल्लेख छ।
.gif)

.png)

