त्रिविमा ३९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग : २ अर्ब बढी नोक्सानी, ४१ फिर्ता गरे साढे १० करोड

समयभित्र सम्पर्कमा नआए कडा कानुनी कारबाही अगाडि बढाइने चेतावनी


२०८३ जेठ २१ बिहीबार ०८:३१ बजे

काठमाडौँ, २१ जेठ :  अध्ययन बिदामा विदेश गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको नाममा विश्वविद्यालयको अर्बौँ रुपैयाँ दुरुपयोग भएको विषयमा सरकारले चासो देखाएपछि बक्यौता बुझाउने क्रम सुरु भएको हो। त्रिविका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरिसकेका छन्, जसबाट कुल १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको कडा चासो र सक्रियतापछि मन्त्रालयले कबुलियतनामाअनुसारको रकम चाँडो असुल गर्न निर्देशन दिएको थियो। मन्त्रालयको यही दबाबपछि त्रिवि प्रशासनले अनुसन्धान र रकम असुलीको कामलाई तीव्र गतिमा अगाडि बढाएको हो।

अध्ययन बिदामा रहेर गायब भएका १९१ प्राध्यापकमध्ये ४१ जनाले मात्रै हालसम्म रकम बुझाएको छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले जानकारी दिए। उनका अनुसार थप ६२ जना प्राध्यापकले रकम फिर्ता गर्नका लागि समितिसमक्ष निवेदन दिएका छन्, जसमध्ये ५४ जनालाई समितिले पत्र काटेरै ताकेता गरिसकेको छ।

संयोजक काफ्लेले रकम फिर्ता गर्ने क्रम जारी रहेको बताउँदै अझै पनि अटेर गरिरहेका अन्य प्राध्यापकहरूलाई अविलम्ब रकम बुझाउन आह्वान गरेका छन्। निर्धारित समयमा रकम फिर्ता नगरे उनीहरूको नाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ।

३९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग, २ अर्ब बढीको नोक्सानी

विश्वविद्यालयको नियमअनुसार शिक्षक तथा कर्मचारीले अधिकतम पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन्। तर, यो नियमको व्यापक दुरुपयोग हुँदा विश्वविद्यालयलाई शैक्षिक र नैतिक नोक्सानीका साथै २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते डा. काफ्लेको संयोजकत्वमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनअनुसार कुल ३९८ प्राध्यापकले बिदाको दुरुपयोग गरेको भेटिएको छ। जसमा बिदा सकिएर पनि नफर्किएका १९१ जना र बिदा लिएर पनि अध्ययन पूरा नगर्ने २०७ जना प्राध्यापक रहेका छन्। विश्वविद्यालयका अनुसार यसरी गायब भएका प्रतिप्राध्यापकले न्यूनतम १० लाखदेखि बढीमा ५० लाख रुपैयाँसम्म त्रिविलाई फिर्ता गर्नुपर्ने देखिएको छ।

त्रिविका निमित्त उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले अध्ययन बिदामा गएर सेवामा नफर्किएका प्राध्यापकहरूलाई नियमअनुसारको बिगो रकम चाँडो फिर्ता गरेर अनुसन्धानमा सहजीकरण गरिदिन आग्रह गरेका छन्। उनले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर पटक-पटक सार्वजनिक सूचना निकालिएको स्पष्ट पार्दै तोकिएको समयभित्र सम्पर्कमा नआए कडा कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिए। छानबिन समितिले आफ्नो पूर्ण अध्ययन प्रतिवेदन छिट्टै विश्वविद्यालयलाई बुझाउने तयारी गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७