ढोरपाटनमा पर्यटकको ओइरो

होटल नपाएर सयौँ फर्किए, व्यवसायी भन्छन्, ‘बुझेर मात्र आउनुहोला’


२०८३ जेठ १६ शनिबार १०:३६ बजे

ढोरपाटन (बागलुङ) : लगातार चार दिन सार्वजनिक बिदा भएपछि बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा पर्यटकको ओइरो लागेको छ। एकैपटक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक ओर्लिएपछि यहाँका होटल र होमस्टेहरू भरिभराउ भएका छन्। बास बस्ने कोठा नपाएर कतिपय पर्यटकहरू पहिलो दिनमै फर्किन बाध्य भएका छन्।

बिहीबारदेखि बिदा सुरु भए पनि ढोरपाटनका होटलहरू बुधबारदेखि नै प्याक भइसकेका थिए। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार अचानक पर्यटकको चाप बढ्दा व्यवस्थापनमा निकै सकस भएको छ। ढोरपाटन क्षेत्रमा हाल २७ वटा होटल र १२ वटा घरबास (होमस्टे) सञ्चालनमा छन्।

'लामो बिदाका कारण पाहुना थामिनसक्नु हुनुहुन्छ। होटल, होमस्टे मात्र होइन, वरपरका खाली घरहरू पनि भरिएका छन्,' अध्यक्ष पुनले भने, 'मेरो सम्पर्कमा आएका मात्रै करिब एक सय जनाले बास नपाएर फर्किनु पर्यो। अरू व्यवसायीकहाँ पुगेका पाहुना पनि धेरै फर्किएका छन्। त्यसैले अब ढोरपाटन आउने पर्यटकलाई होटलको अवस्था बुझेर मात्र आउन आग्रह गर्दछौँ।'

क्षमता ७०० को, पर्यटक आए दोब्बर

ढोरपाटनका होटल र होमस्टेको कुल क्षमता एक रातमा करिब ७०० जना पाहुना राख्ने मात्रै हो। तर, अहिले क्षमताभन्दा झन्डै दोब्बर बढी पर्यटक आएका छन्। होटल व्यवसायी शिवराज कँडेलले अरू बेला पनि पर्यटक आइरहने भए पनि बिदाका कारण एकै दिन एक हजारभन्दा बढी पर्यटक ओर्लिएको बताए।

उनले आफ्नो होटलमा ८० जनालाई राखेको र ठाउँ नपुगेर २०० भन्दा बढी पाहुनालाई अन्यत्र पठाउनु परेको सुनाए। अहिले ढोरपाटनमा मेला लागेजस्तै भीडभाड छ। गत वर्षसम्म बुर्तिबाङ–ढोरपाटन सडकको अवस्था निकै खराब थियो। तर, पछिल्लो समय सडक व्यवस्थित बनेपछि बुर्तिबाङ बजारबाट करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने भएको छ। यातायात सहज भएकै कारण यहाँ पर्यटकको आकर्षण ह्वात्तै बढेको व्यवसायीहरूको भनाइ छ।

गुल्मीबाट १३ जनाको समूहमा तीन दिनको योजनासहित आएका महेश खड्काले ढोरपाटनमा होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको गुनासो पोखे। बिहीबार आइपुगेकाहरूले मात्र बास पाएको भन्दै उनले आफूहरू एकै दिनमा फर्किनु परेको बताए।

गर्मी छल्न आउने धेरै

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार यो मौसममा बेँसी क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले शीतलता खोज्दै पर्यटकहरू ढोरपाटन उक्लिने गर्छन्। एकैपटक धेरै पर्यटक आउँदा खाना, बस्न र व्यवस्थापनमा समस्या हुने भएकाले स्थानीय सरकार र जनप्रतिनिधिले पनि होटल व्यवसायीसँग पहिले नै सम्पर्क गरेर मात्र भ्रमणको योजना बनाउन अनुरोध गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७