प्रधानसेनापतिले पूर्वरथीहरूलाई जङ्गी अड्डामा बोलाएर गरे अन्तरक्रिया
काठमाडौँ, ९ जेठः प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका पूर्वरथीहरुसँग अन्तरक्रिया गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरूसँग विशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको जङ्गी अड्डाले जनाएको छ ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गर्दै आएका जिम्मेवारी, महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिहरूको समीक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रममा राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा केन्द्रित रहेर गहन छलफल भएको थियो।
त्यस अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि अग्रज नेतृत्वले पुर्याएको अमूल्य योगदानको उच्च सम्मान गरेका थिए । उनले राष्ट्र र संस्थाप्रति समर्पित पूर्वरथीहरूबाट सेनाले निरन्तर प्रेरणा प्राप्त गरिरहेको उल्लेख गरेका थिए ।
यस प्रकारको संवादले सेवारत र अवकाशप्राप्त सैनिक नेतृत्वबीच निरन्तर समन्वय कायम गर्ने र प्राप्त राय-सुझावले राष्ट्रिय हितको संरक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
.gif)

.png)

