त्रिवि मैदानमा नेपालको ऐतिहासिक ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य
नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो।
काठमाडौं : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाविरुद्ध ३ सय १७ रनको विशाल योगफल तयार पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा यो ऐतिहासिक स्कोर खडा गरेको हो। नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो।
यसअघि सन् २०२३ मा नेपालले ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो। समग्र ओडीआई इतिहासमा भने नेपालको यो दोस्रो ठूलो स्कोर हो; यसअघि नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको आफ्नो सबैभन्दा उच्च योगफल बनाएको थियो।
नेपालको यो विशाल स्कोरको जग ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले बसालेका थिए, जसले पहिलो विकेटका लागि १२.५ ओभरमा ६९ रनको साझेदारी गरे। कुशलले ३९ बलमा २९ रन र आशिफले ५७ बलमा ४३ रनको योगदान दिए। त्यसपछि तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेबीच १ सय १० रनको उत्कृष्ट शतकीय साझेदारी भयो। नेपालका लागि सर्वाधिक रन बनाएका इशान पाण्डेले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ८४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रोहित पौडेल भने ४६ रन बनाउँदा एलबीडब्लु (LBW) को शिकार हुन पुगे।
खेलको अन्तिमतिर दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै नेपालको स्कोरलाई ३०० पार गराए। उनले मात्र ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५९ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेले भने गुल्सन झाले १५ रन र सोमपाल कामीले ५ रन जोडे। अमेरिकाका लागि बलिङतर्फ शुभम रन्जानेले सर्वाधिक ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले समान १–१ विकेट हात पारे। अब केही बेरमा अमेरिकाले ३ सय १८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ सुरु गर्नेछ।
.gif)

.png)

