भोजपुरका जेहेन्दार विद्यार्थीलाई कोइरालाद्वारा छात्रवृत्ति प्रदान


२०८३ बैशाख २४ बिहीबार २२:३५ बजे

काठमाडौँ: पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भोजपुरका दुई प्रमुख शैक्षिक संस्थाका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेका छन्। उनले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गरेको 'वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष' बाट बिहीबार आठ जना विद्यार्थीलाई पुरस्कृत गरेका हुन्।

कोइरालाले भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा जनही १५ हजार रुपैयाँ नगद र प्रशंसापत्र प्रदान गरे। भोजपुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायका रविना बुढाथोकी र युना म्हेन्दो तामाङ तथा शिक्षाशास्त्र संकायका खुस्बु बयलकोटी र स्नेह राई छात्रवृत्तिबाट सम्मानित भएका छन्।

त्यसैगरी, विद्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरू दिपेश विष्ट, साम्युमा खिम्दुङ, कुञ्जना तामाङ र कविस उरावले पनि उक्त छात्रवृत्ति प्राप्त गरेका छन्। कोइरालाले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा टेवा पुऱ्याउने उद्देश्यले यी दुई संस्थामा कुल १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

आफ्नो जन्मभूमि र आफूले शिक्षा आर्जन गरेको विद्यालयप्रतिको सम्मान स्वरूप यो कोष खडा गरेको उनले बताए। यस किसिमको सहयोगले विद्यार्थीहरूलाई थप मिहिनेत गर्न र पठनपाठनमा ऊर्जा मिल्ने उनको विश्वास छ। वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७