प्रदर्शनमा उत्रिएका धरानेहरुको नारा : मरे चिहान, बाँचे घर, तानाशाहको अर्को रूप बालेन
धरान : काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीमा डोजर चलाइएको विरोधमा धरानमा पनि प्रदर्शन गरिएको छ । शनिबार नेपाल बसोबास बस्ती संरक्षण समाजको आयोजनामा निकालिएको विरोध र्यालीका सहभागीले विकल्पविना बस्ती हटाउन खोजिए एकताबद्ध भएर सरकारको प्रतिरोध गर्ने चेतावनी सहित प्रदर्शन गरेका हुन् ।
काठमाडौंमा सुकुम्वासी बस्तीमाथि भएको सरकारी कदमको विरोधमा धरानका सुकुम्वासीहरू सडकमा उत्रिएका हुन् । छाताचोकदेखि भानुचोकसम्म निकालिएको र्यालीमा सहभागीहरूले ‘मरे चिहान, बाँचे घर, एकता नै हाम्रो भर’, तानाशाहको अर्को रूप बालेन जस्ता नारा लगाएका थिए । उनीहरूले विकासका नाममा गरिब तथा विपन्न समुदायलाई विस्थापित गर्नु अन्यायपूर्ण र अमानवीय भएको बताए ।
प्रदर्शनकारीहरूले ‘डोजर होइन विकास दे’, ‘गरिबको घर भत्काउने यो कस्तो विकास हो?’, र ‘विस्थापित सुकुम्वासीलाई पुनः स्थापना गर’ जस्ता प्लेकार्ड बोकेका थिए । राज्यले दीर्घकालीन समाधान खोज्नुको सट्टा बल प्रयोग गरेर समस्यालाई थप जटिल बनाएको उनीहरूको आरोप छ ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका कार्यक्रम संयोजक सुवास राईले उचित पुनःस्थापनाको व्यवस्था नगरी घर भत्काउनु मानवअधिकारको ठाडो उल्लंघन भएको बताए । सुकुम्वासीहरूको वास्तविक पहिचान, वर्गीकरण र आवश्यकताका आधारमा व्यवस्थापन नगरी चालिएको कदम न्यायसंगत नभएको उनको भनाइ छ ।
काठमाडौंमा डोजर आतंक सुरु भएपछि धरानका सुकुम्वासीहरूमा पनि त्रास फैलिएको छ । धरान उपमहानगरपालिकाको तथ्यांकअनुसार यहाँका २० वटै वडामा गरी कुल १७ हजार ३ सय ७५ सुकुम्वासी परिवार बसोबास गर्छन् । जसमा भूमिहीन दलित १ हजार ४ सय ६२, भूमिहीन सुकुम्वासी ४ हजार १०६ र अव्यवस्थित बसोबासी ९ हजार ८ सय ७१ रहेका छन् । धरानको वडा नं. ५ मा सबैभन्दा बढी सुकुम्वासीको बसोबास छ भने वडा १७, ११, १५, १६ र ४ मा पनि ठूलो संख्या रहेको छ ।
धरानका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले आफू पदमा बहाल रहँदासम्म सुकुम्बासी बस्ती हटाउन नदिने अडान व्यक्त गरेका छन्। उनले सुकुम्वासी समस्यालाई राजनीतिक नभई मानवीय र कानुनी दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकार नागरिकको अभिभावक भएको उल्लेख गर्दै उनले समुदायलाई संयमित रहन आग्रह गरे । सबै नागरिकको आवास सुरक्षा र सम्मानजनक जीवन सुनिश्चित गर्नु नै नगरको प्राथमिकता रहेको उनको भनाइ छ । कार्यवाहक मेयरका सचिवालय सदस्य समफर तामाङका अनुसार स्थानीय सरकार सुकुम्बासीको पक्षमा छ र उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बस्तीमै पुग्ने तयारी गरेको छ।
.gif)

.png)

