आईजीपी नारायणदत्त पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड
पौडेलले १८ चैत २०८४ सम्म आईजीपीको कमाण्ड सम्हाल्नेछन्
काठमाडौं : सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।
आईजीपी पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ मा अवकाशमा जानेछन् । हालका आईजीपी राजु अर्याल वैशाख १८ देखि आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।
.png)
| मिति (वि.सं.) | पद / बढुवा विवरण |
| १८ चैत २०५४ | इन्स्पेक्टर (नेपाल प्रहरी) |
| १८ असार २०५८ | डीएसपी (का.मु. मुकरर) |
| १८ चैत २०५८ | डीएसपी (स्थायी बढुवा) |
| २१ चैत २०६३ | एसपी बढुवा |
| २ जेठ २०७० | एसएसपी बढुवा |
| १३ कात्तिक २०७५ | डीआईजी |
| ६ जेठ २०७९ | एआईजी |
| १४ वैशाख २०८३ | आईजीपी नियुक्त |
आईजीपीका लागि एआईहरू बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले वरीयताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका पौडेल सशस्त्र प्रहरी बलको गठन भएपछि २०५८ वैशाख ४ गते स्थानान्तरण भएका थिए ।
पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो । दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो ।
ठाडा मगर २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
२०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए । त्यसपछि उनलाई १८ असार २०५८ मा सशस्त्रको कामु डीएसपी बनाइएको थियो । १८ चैत २०५८ मा उनी स्थायी बढुवा भएर डीएसपी बने ।
२९ चैत २०६३ मा एसपीमा बढुवा भएका पौडेल २ जेठ २०७० मा एसएसपी भएका थिए । १३ कात्तिक २०७५ मा डीआईजी र ६ जेठ २०७९ मा उनी एआईजीमा बढुवा भएका थिए ।
पौडेल राष्ट्रिय र अन्तराष्ट्रिय विभिन्न पाँचवटा पुरस्कारबाट सम्मानित भएका छन् । सरकारले पौडेललाई सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री चौथो, गोरखा दक्षिण बाहु चौथो, प्रदेश सेवा पदक र संयुक्त राष्ट्रसंघ पदक लाइबेरिया र कोसोभोले सम्मान गरेको छ । पौडेलले राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न तालिमको अनुभव लिएका छन् ।
.gif)

.png)

