विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइयो
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन्। बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या र समाधानका उपायबारे विमर्श हुनेछ। यस्तै, कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको दाहालले जानकारी दिइन्।
बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनेछन्। नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनेछन्।
साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन्। शाहले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल गर्दैछन्।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने सचिवालयले जनाएको छ ।
.gif)

.png)

