७० जिल्लामा फैलियो मानव बेचबिखनका घटना : वर्षमा ३५१ मानव बेचबिखनका घटना


२०८२ चैत ३० सोमबार १७:१३ बजे

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा औसत रूपमा वार्षिक ३५१ मानव बेचबिखनका घटना हुने गरेको तथ्य सार्वजनिक गरेको छ। आयोगद्वारा जारी मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी प्रतिवेदन अनुसार ७७ जिल्लामध्ये ७० जिल्लामा यस्ता घटना देखिएका हुन् । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदालतबाट छिटो टुंग्याउनुपर्ने आवश्यकता औंल्याए। यस्ता घटनामा न्याय निरूपण ढिलो हुँदा पीडितले न्याय पाउन कठिन भइरहेको उनले बताए । 

अध्यक्ष मगरका अनुसार मानव बेचबिखन नियन्त्रणमा सरकारी प्रयास पर्याप्त प्रभावकारी हुन सकेको छैन। यस्तो अपराध रोक्न विपन्न वर्गको आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना तथा जनचेतना अभिवृद्धिमा सरकार अझ सक्रिय हुनुपर्ने उनले उल्लेख गरे।

'यो गम्भीर अपराध नियन्त्रणको काम सरकारको हो । आयोगले यस विरुद्ध गर्नुपर्ने कामबारे सरकारलाई सिफारिस गरेका छौँ । सरकारले त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्‍यो,' उनले भने।

आयोगका सिफारिस कार्यान्वयन नभएसम्म मानव बेचबिखन न्यूनीकरण हुन नसक्ने पनि उनले बताए । प्रतिवेदनमा रोजगारीको प्रलोभनमा पारेर नेपालीहरूलाई विदेशमा लगेर अवैध कल सेन्टरमा काम लगाउने, महिलाहरूको डिम्ब तस्करी गर्ने तथा रात्रिकालीन व्यवसायमा लगाउने प्रवृत्ति बढ्दो रहेको उल्लेख छ।

यस्तै, लामा पढाउने बहानामा बालकहरूको तस्करी हुने गरेको तथा पछिल्लो समय चिनियाँ नागरिकसँग विवाह गराउने प्रलोभनमार्फत पनि बेचबिखन हुने गरेको प्रतिवेदनमा जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७